
गोपाल पोखरेल
विराटनगर । सधैँ फुर्सदिला देखिने मोरङको दर्वेशा गाउँवासीलाई अहिले कामको चटारो छ । टाट्नाभरी खसीबोका पालेका छन् भने खेतबारीमा घाँस रोपेर हरीयाली बनाएका छन् । अहिले पनि उनीहरूलाई घाँस–खोले गर्न भ्याइनभ्याइ छ ।
समग्रमा भन्दा दर्वेशा गाउँका बेरोजगार युवाहरू आत्मनिर्भर हुन थालेका छन् । सरकारले ऋण देला र व्यवसाय गरौँला भनेर सरकारको मुख ताकेर बसेका उनीहरू सरकारी सहयोग नपाएपछि आफैँ बाख्रा पालनतर्फ लागेका हुन् ।
गाउँलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत दर्वेशाका फडिन्द्र सुवेदीले बैंकबाट तीन लाख रुपैयाँ ऋण लिएर बाख्रापालन व्यवसाय थालेका छन् । उनको सावित्रा बाख्रा फर्म अहिले मोरङकै नमुना बाख्रा फर्म बनेको छ ।
ऋण तिरिसकेका उनले उनको फर्ममा ३ सय बयर जातका खसीबाख्रा पालिएको छ । सावित्रा बाख्रा फर्मका खसीबोका अहिले मोरङ, सुनसरी, झापालगायत काठमाडौंसम्म पुग्ने गरेको स्थानीय बताउँछन् । अन्य पहाडी जिल्लाबाट समेत खसी खरिद गर्न व्यापारीहरू मोरङ आउने गरेका छन् ।
पछिल्लो समयमा विभिन्न पालिकाहरूबाट किसानलाई वितरण गर्न खसीबोका खरिदसमेत गर्ने गरिएको छ । सुरुमा थोरै लगानीबाट सुरु गरिएको व्यवसाय अहिले ५ कठ्ठा जमिनमा ५० लाख रुपैयाँको लागतमा विभिन्न पाँचवटा आधुनिक बाख्राको खोर निर्माण गरिएको छ ।
बाख्राका लागि चार विघा जमिनमा उच्च कोटीका घाँस समेत लगाइएको छ । रङ्गेली नगरपालिका–२ का वडा अध्यक्ष टंक आचार्यले वडा र पालिकाले पशुपालनतर्फ जोड दिएको बताउनुभयो । कोरोनाका कारण विनियोजित वजेट खर्च हुन नसकेकाले बाख्रापालन तर्फ लगानी बढाइएको उहाँको भनाइ छ ।
सुवेदीको बाख्रा फर्मको आम्दानी देखेर गाउँका अधिकांश युवाहरू विदेशिन छाडेर आत्मनिर्भर बन्न थालेको छन् । विदेशमा बगाउने पसिना गाउँमै बगाउने भन्दै उनीहरूसमेत बाख्रा फर्म खोलेर बसेका छन् ।
स्थानीय स्तरमा उन्नत जातका खसी बाख्रा पालन गरे कृषकहरूको आर्थिक स्थिति बलियो हुँदै जानेमा दुईमत छैन । तर, कृषि क्षेत्रमा युवाहरूलाई आकर्षित गर्न सरकारले कृषकमैत्री विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्