१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पशुपतिको बौद्ध सम्पदा ओझेलमा, विकास कोषले चासो नदिएको जनप्रतिनिधिको आरोप (भिडियो)


143
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । विश्व सम्पदामा सुचीकृत पशुपति क्षेत्रमा रहेको लिच्छवीकालिन बौद्ध सम्पदा धम्मचक्र हराएको छ । यस क्षेत्रमा पुरातात्विक र ऐतिहासिक महत्वका धेरै बौद्ध सम्पदाहरू रहेका छन् । तर, उचित संरक्षण नहुँदा यस्ता सम्पदाहरू हराउँदै गएका छन् ।

शैव र शाक्त धर्म दर्शनको आस्थाको केन्द्र हो पशुपतिनाथ मन्दिर क्षेत्र, यति मात्र होइन योे बौद्ध धर्मको आस्थाको केन्द्र पनि हो । यही क्षेत्रबाट बौद्ध काग्यूपा सम्प्रदायको उदय भएको थियो । तिब्बतमा पुगेर विकसित यो सम्प्रदाय तिब्बती बौद्ध धर्मको चार प्रमुख सम्प्रदाय मध्ये एक हो ।

१० औं शताब्दीमा महासिद्ध बज्रयानी बौद्ध गुरु तिलोपा र शिष्य नारोपाले पशुपति मन्दिरको पूर्व वाग्मती नदी भन्दा माथिको गुफामा ध्यान गरेर सिद्धी प्राप्त गरेको बताइन्छ । यससँगै काग्यूपा सम्प्रदायको उदय भएको र पछि मार्पा लोचवाले तिब्बतमा यो सम्प्रदायको विकास गरेका थिए । तसर्थ बौद्ध धर्ममा यो गुफालाई तिर्थस्थलको रुपमा लिने भएकोले अत्यन्त महत्वपूर्ण रहेको छ ।

तर, हाल यो तिलोपा र नारोपा गुफा ओझेलमा परेका छन् । यति मात्र होइन यहाँ पुरातात्विक र ऐतिहासिक महत्वका अन्य सम्पदा पनि असुरक्षित बन्दै गएका छन् । पशुपतिको पूर्व क्षेत्र वनमा रहेको लिच्छवीकालिन बौद्ध चैत्य पनि असुरक्षित रहेको देखिन्छ । साथै नदीको किनारामा रहेको ७औं शताब्दीको बुद्धको मुर्ति पनि यस्तै अवस्थामा रहेको छ ।

लिच्छवीकालिन पुरातात्विक ऐतिहासिक महत्वको धम्मचक्र पशुपति मन्दिर परिसर भित्र रहेको छ भने बाहिर रहेको एउटा धम्मचक्र हराएको छ । स्थानीय बासिन्दा एवं प्रदेश सभासद नरोत्तम वैद्यले सम्पदा संरक्षणमा पशुपति क्षेत्र विकास कोषले खासै चासो नदेखाएको आरोप लगाउनुहुन्छ ।

पशुपतिनाथ धार्मिक सहिष्णुताको प्रतिक पनि हो । हाल सम्म पनि मुखः अष्टमीका दिन पशुपतिको शिव लिङ्गमा पञ्च बुद्धको मुर्ति राखेर र तिकिन्चा पर्वमा भगवान बुद्ध सहितको चैत्य राखेर पुजा गर्ने परम्परा रहँदै आएको छ । वैद्यका अनुसार पशुपति क्षेत्र हिन्दुहरूको मात्र नभइ अन्य धर्मको पनि आस्थाको केन्द्र पनि हो ।

पशुपति क्षेत्रको मौलिक गौरवमय इतिहासलाई हामीले बिर्सनुहुँदैन, यस क्षेत्रको पुरातात्विक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई मनन् गरेर यहाँ रहेका सबै सम्पदाको संरक्षण गर्नु आवश्यक रहेको छ ।