१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किसानलाई चैते धान रोप्ने चटारो


0
Shares

केशव कोइराला (इमेज)

बर्दिया । बर्दिया जिल्लामा किसानलाई चैते धान रोप्ने चटारो छ । केही वर्ष अगाडी एक सिजनमात्र धान खेती गर्दे आएका किसान उत्पादनमा वृद्धि हुन थालेपछि चैते धान खेती गर्न थालेका हुन् ।

बर्दिया जिल्ला प्रशस्त धान उत्पादन हुने जिल्लाका रुपमा परिचित छ । केही वर्ष अघिसम्म वर्खे याममा मात्र धानको खेती गरिँदै आएकोमा पछिल्लो समय भने चैते धानतर्फ किसान आकर्षित भएका छन् ।

गत ३ वर्षसम्म परीक्षण कालका रुपमा चैते धान खेती गरेका किसानले उत्पादन बढ्ने देखेपछि यो वर्ष व्यावसायिक रुपमा चैते धान रोप्न थालेका हुन् ।

अन्य बाली रोप्ने तथा भित्र्याउने चटारोमा रहेका किसानलाई चैत लागेसँगै चैते धान रोप्ने चटारो परेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन आएपछि चैते धानखेती सुरु गरेको स्थानीय किसान प्रेम कार्की बताउनुहुन्छ । उहाँले तीन बाली लगाउँदा उत्पादन राम्रो भएपछि आफूहरुले पनि धान खेती सुरु गरेको बताउनुभयो ।

यस वर्ष जिल्लाका बारबर्दिया, ठाकुरवावा, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानले झण्डै १५ सय हेक्टरमा चैते धान लगाउँदै आएका छन् ।

कृषि मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनले किसानहरुलाई आवश्यक पर्ने चैते धानको बिउ तथा प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।

जसका कारण यस वर्ष धानको रोपाइँ पोहरको तुलनामा दोब्बर भन्दा धेरै क्षेत्रफलमा गर्न लागेको परियोजना प्रमुख डा.तपेन्द्र शाहको भनाइ छ ।

चैते धान समयमै रोप्नुका साथै मलखाद एंव सिँचाइको उचित व्यवस्थापन गर्न सके यसबाट धेरै उत्पादन गर्न सकिने देखिन्छ ।

धान उत्पादन सँगै भारतलगायत तेस्रो मुलुकबाट चामलको आयात कम भइ अर्थतन्त्रमा टेवा पुग्नुका साथै किसानहरुको आम्दानी पनि बढ्ने निश्चित छ ।