
राकेश बस्नेत
दाङ । दाङको संक्राममा रहेको तत्कालीन माओवादीको जनमुक्ति सेना बसेको व्यारेक क्रान्ति संग्रहालयमा परिणत हुने भएको छ । यसको संरक्षणको लागि भन्दै स्थानीय निकायले यसलाई ब्यारेकबाट क्रान्ति संग्रहालयमा परिणत गर्न लागेको हो ।
शान्ति सम्झौता पछि २०६४ मंसिर २५ गते तुलसीपुर उपमहानगरपालिकाको यो संक्राममा दीर्घस्मृति ब्रिगेड अन्तर्गतका ३ वटा बटालियन सहितको २ हजार जनमुक्ति सेना बसेका थिए । यी ब्यारेकमा रहेका भौतिक संरचना जस्तापाता तथा काठहरू चोरी भइसकेको छ, भने जग्गा पनि अतिक्रमण हुँदै आएको छ ।
भौतिक संरचनाको हबिगत हेरिनसक्नु छ भने जग्गा अतिक्रमण हुँदा यसको अस्तित्व संकटमा पर्न थालेपछि स्थानीयवासीले यसको संरक्षण गर्नु पर्ने माग राख्दै आएका छन् । यसरी नै भौतिक संरचना चोरी हुने हो भने नामको मात्रको ब्यारेक हुने भन्दै स्थानीयहरूले यसको संरक्षणमा जोड दिएका हुन् ।
२ हजार सेना मध्ये दाङ तुलसीपुर उपमहानगरपालिका १८ का घाइते जनमुक्ति सेना भुल बहादुर विक पनि त्यहि ब्यारेकमा बस्दै आएका थिए । आफूजस्तै पूर्व जनमुक्ति सेनाको रगत र पसिनाबाट बनेको संचरनाहरू यस्तो अवस्था देख्दा उनको मन पनि भारी भएको छ ।
व्यारेक लथालिङ्ग अवस्थामा पुगेपछि ब्यारेकामा बस्दै आएकाहरूसमेत समस्यामा परेका छन् । ब्यारेकलाई समान्य संरक्षण बाहेक अरु कुनै प्रगति नभएको संक्राम ब्यारेक भौतिक संरचना संरक्षण तथा व्यवस्थापन समितिका सचिव विभिषण रोका मगरको गुनासो छ । उपमहानगरले संरक्षण गर्न जिम्मा पाएपछि स्थानीयवासीले संरक्षण गर्न छाडेका रोका मगर र फम्फा नेपाली बताउनुहुन्छ ।
ब्यारेकको संरक्षण गर्छौं भन्दै विभिन्न समयमा नेताहरूले पनि उक्त ब्यारेकको अवलोकन नगरेका भने होइनन् । तर, यो ब्यारेक पछिल्लो समयमा संरक्षणको अभावमा संग्रहालय भन्दा पनि दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ । आफूले विगत एक वर्षदेखि उक्त ब्यारेकलाई हेर्दै आइरहेको कौमती खत्रीले ब्यारेको संरक्षण भन्दा पनि स्थानीयहरूले ब्यारेकको जग्गा पनि अतिक्रमण गरेको आरोप लगाउनुभयो ।
सेना समायोजन पछि लामाखोला महिला सामुदायिक वन क्षेत्रमा करिब १० बिघा क्षेत्रफलमा फैलिएको ब्यारेकको संरचना सुरक्षाका लागि सशस्त्र प्रहरीले २०६८ फागुन २७ गतेदेखि हेरविचार गर्दै आएको छ । तर केही समयपछि सशस्त्र प्रहरीले उक्त ब्यारेक छोडेर गएपछि ब्यारेकको संरक्षण उपमहानगरपालिकाले गर्दे आएको थियो ।
अहिले यो ब्यारेकको गाउँलेलेनै चौकीदारी गर्दै आएका छन् । यता उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने संरक्षणको अभाव भए पछि यसको दिगो संरक्षणका लागि ब्यारेकलाई क्रान्ति संग्रहालयका रूपमा परिणत गरिने बताउनुभयो । स्थानीयले भने क्रान्ति संग्रहालय बनाउने स्थानीय सरकरको योजना अनुसार तत्काल भौतिक संरचनाहरूको संरक्षण गर्नुपर्ने माग राख्दै आएका छन् ।
पछिल्लो समय सुकुम्बासीका नाममा ब्यारेक अतिक्रमण बढ्दै जान थालेको छ । यसलाई समयमै ध्यान दिन सकिएन भने यो क्रान्ति संग्रहालय वनाउने नारा पनि मात्र नारामै सीमित हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्