३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


स्वेच्छारिता, व्यक्तिवादविरुद्ध लड्नका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा नेपाल समूहको जोड


0
Shares

काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला बुधबारबाट सुरु भएको छ ।

पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी पार्टी पंक्तिको एकीकृत धारणा तय गर्न र त्यस अनुरुप पार्टी पंक्तिलाई देशव्यापी रूपमा परिचालन गरी सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन भेला आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

पार्टीका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा भएको भेलामा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।

अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अर्को उपाय नभएको उल्लेख गरिएको थियो ।

नेपालले स्वेच्छारिता, व्यक्तिवादविरुद्ध लड्नका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा पनि जोड दिनुभएको छ । पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरिएको छ ।

अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरूलाई सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ । आ–आफ्नो समूहमा छलफल गरी टोली नेतामार्फत बिहीबार सुझावहरू पेस गर्ने र ती सुझावलाई समेत ध्यानमा राखी अवधारणापत्र पारित गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो ।

सहभागीहरूको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश १ मा भीमप्रसाद आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा योगेश भट्टराई, सुदूरपश्चिममा भीम रावल, सम्पर्क कमिटी र जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा कमरेड अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ ।

भट्टराईले देशभरबाट भेलामा सहभागी हुनुलाई रहनुले पार्टी एकताबद्ध रहन्छ भन्ने सन्देश दिएको बताउनुभयो । पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चतामा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई सामूहिक प्रणालीमा पुनस्र्थापित गर्ने काममा बुधबारको भेलाले महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।

भेलामा देशभरिबाट चार हजार नेता–कार्यकर्ताहरू सहभागी थिए । भेलामा अग्रज नेताहरू कमलप्रसाद कोइराला, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलयायतले शुभेच्छा प्रकट गर्न पुग्नुभएको थियो । भेला बिहीबार समापन हुनेछ ।