
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले अनुशासन उल्लंघन गर्ने सांसद्लाई कारबाही गर्न संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले २७ जना सांसद् रहने संसदीय बोर्ड गठन गरेको हो ।
संसदीय बोर्ड गठन नगरिएको अवस्थामा संसदीय दलको नेता एवं प्रधानमनन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सदस्य रहेको बोर्ड गठन गरेको छ । बोर्डमा प्रधानमन्त्री ओली सहित संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य छन् ।
त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनि राना, मोहन बानियाँ, उपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने, बिमला विक पनि बोर्डमा छन् ।
सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले बैठकले बोर्ड गठन गरेको सांसद् शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यस्तै, बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ । कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेका छन् । कार्यदलले ७ गतेको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरेर पेश गर्ने जिम्मेवारी दिइएको छ ।
नेकपा एमालेको संसदीय दलमा १ सय २१ जना सांसद् रहेकाले त्यहि अनुसारका सदस्यहरूलाई जिम्मेवारी दिने तामाङले जानकारी दिनुभयो । बैठकले गुटगत गतिविधि गर्नेहरूलाई कारबाही गर्ने विषयमा छलफल र निर्णय नगरेको उहाँको भनाइ छ ।
हरेक बैठकमा शत प्रतिशत सांसद् उपस्थित हुन नसक्ने तामाङले बताउनुभयो । संसदीय दलको अर्को बैठक ७ गते विहान साढे १० बजे बालुवाटारमै बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्