
डीबी विष्ट
बझाङ । केही दिनअघि बझाङका १२ वटै स्थानीय तहले १११औं अन्तर्राष्ट्रिय नारी दिवस धुमधामका साथ मनाए । तर, महिलामाथि हुने हिंसाका घटनाहरू न्यूनिकरणतर्फ कसैले ध्यान दिन सकेको छैन ।
सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले घरेलु हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे पनि यसको न्यूनिकरणका लागि भने कुनै पहल गरेका छैनन् । पछिल्लो समयमा महिलाहरू घरेलु हिंसाका चपेटामा पर्दे गएका छन् ।
परिवारका आफन्तहरूबाटै घरेलु हिंसा हुने गरेको र कतिपयले सहन नसकेर आत्महत्या गर्ने अवस्थासम्म पुगेको जयपृथ्वी नगरपालिकाकी कालीदेवी सार्कीको गुनासो छ । आफूहरूले हिंसा न्यूनिकरणको प्रयास गरेको उहाँको दावी छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले आर्थिक वर्ष २०७५/०७६ मा महिला हिंसाका १ सय ३२ वटा र आर्थिक वर्ष २०७६/०७७ मा २ सय ४ वटा उजुरी दर्ता गरेको छ । पछिल्लो समयमा बलात्कारका घटनाहरूमा बृद्धि भएको महिला अधिकारकर्मी सीता सिंह बताउनुहुन्छ । महिलामाथि हुने हिंसा नजिकैको आफन्तबाट हुने गरेको उहाँको बुझाइ छ ।
बलात्कार तथा महिला हिंसाजस्ता घटनाहरू न्युनिकरण गर्न स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले कानुनी प्रावधान सम्बन्धी सचेतना मुलक कार्यक्रमहरू सञ्चालन गरी प्रचारप्रसार गर्न आवश्यक भएको अधिकारकर्मी सिंहको भनाइ छ ।
बलात्कार एवं महिला हिंसाबाट पीडित महिलाहरूलाई सुझाव, परामर्श, कानुनी उपचार र स्वास्थ्य सेवा प्रदान गर्न पालिकाहरूको सहयोगमा बझाङमा सेफ हाउस सञ्चालनमा ल्याइएको छ । अहिले सेफ हाउसमा बलात्कार, महिला हिंसा र सबैभन्दा धेरै घरेलु हिंसाका घटनाहरू दर्ता हुने गरेको सेफहाउस प्रमुख गीता शाहीले बताउनुहुन्छ ।
बझाङमा महिलामाथि हुने गरेको घरेलु हिंसा मादक पदार्थ सेवनका कारण हुने गरेको छ । मादक पदार्थलाई व्यवस्थित गर्न सके आधाभन्दा बढी घरेलु हिंसा नियन्त्रण गर्न सकिन्छ । महिलाका नाममा नारा जुलुस गर्नुभन्दा स्थानीय तहहरूले मदिरा नियन्त्रण गर्न र ग्रामीण बस्तीमा चेतनामुलक कार्यक्रम लैजान जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्