१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीको कार्यशैली सुधारेर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा असन्तुष्ट पक्षका नेताहरूको जोड


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को असन्तुष्ट समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

ललितपुरको सानेपामा जारी राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा(एमाले)का नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुद बनाउने उदेश्यका साथ राष्ट्रिय भेला गरिएको बताउनुभयो ।

भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उहाँको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफूहरूको जोड रहेको उहाँको भनाइ छ ।

नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताउनुभयो । नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दवावका लागि भेला राखिएको टिप्पणी गर्नुभयो ।

नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरू सहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिनुभयो ।

नेतृ समिना हुसेनले ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताउनुभयो । पार्टीलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उहाँको भनाइ छ ।

नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाउनुभयो । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उहाँको आरोप छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरू पनि गल्ती सच्याउन तयार रहेको बताउनुभयो ।