
डोलराज रानाभाट
चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले यसै सिजनमा दुई वटा धान रोप्ने आधुनिक मेसिन भित्र्याएको छ । साना किसान सहकारी संस्था बछौली र कुमरोज सहकारीसँगको ५० प्रतिशत लागत साझेदारीमा प्रति मेशिन २० लाख ९० हजारमा २ वटा मेसिन भित्र्याइएको हो ।
धान जोन लागू भएको पूर्वी चितवनमा यान्त्रिकरण गर्ने लक्ष्य सहित मेसिन भित्र्याइएपछि यसपटकको चैते धान रोपिएको हो । एउटा लाइनमा दुई वटा ट्रेको बिउ भर्ने र १२ वटा ट्रेमा बिउ राखेर ६ वटा लाइनमा एकै पटक रोप्ने मेसिन चितवनमै पहिलो पटक ल्याइएको हो ।
एक घण्टामा १५ कठ्ठा खेतमा धान रोप्ने भएकाले ठूला र आयातकार जग्गामा मेसिनको प्रयोग अझ प्रभावकारी हुने देखिएको छ । जीवनमै पहिलो पटक मेसिनले आफ्नै खेतमा धान रोपेको देख्दा रत्ननगर नगरपालिका–७ का पुसना महता दुःखका दिन गएको बताउनुहुन्छ ।

मेसिन कारण धानको उत्पादन बढ्नेमा महता आशावादी हुनुहुन्छ । बिउ आफैँले उत्पादन गर्न नसकेपछि सान किसान सहकारीबाट ल्याएको उहाँ बताउनुहुन्छ । नयाँ प्रविधिअनुसार आफूलाई ढाल्दै लैजानुपर्ने उहाँको भनाइ छ ।
बिउसमेत राख्न नपाएर खेत बाँझै हुने चिन्तामा रहेकी छनिया महतोलाई खेत रोप्ने खेतला पाउनसमेत कठिन भइरहेका अवस्थामा धान रोप्ने मेसिन भित्रिएपछि तनाव हटेको छ । मेसिनले धान रोप्ने मात्रै नभएर मेसिनमा रोप्ने धानको बिउसमेत सहकारीबाटै खरिद गर्न पाउने भएपछि उहाँ दङ्ग पर्नुभएको छ ।

परियोजना चितवनका सूचना अधिकृत माधव पौडेलले किसानहरूलाई बुझाउँदै यान्त्रिकरणमा जोड दिनुपर्ने बताउनुहुन्छ । यस पटक सामुदायिक नर्सरीमा उत्पादन गरिएको विरुवा रोपिएको र आगामी दिनमा किसानहरूलाई आफैँ बिउ राख्न सिकाइने तयारी गरिएको छ । अहिलेको मेसिनबाट धान रोप्दा रोग किरा कम लाग्ने र उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।
परियोजना चितवनका कृषि इन्जिनियर सन्देश पौडेल आफैले मेसिन चलाएर किसानलाई मेसिन चलाउने विधिबारे सिकाइरहनुभएको छ । सहकारीकै अपरेटहरूलाई चलाउन सिकाएर सीप हस्तान्तरण गर्ने उहाँको भनाइ छ ।
नयाँ मेसिन भएका कारण अझै पनि सबै किसान ढुक्क हुन सकेका छैनन् । यसबाट रोपिएको धानले दिने उत्पादन कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ । तर, मेसिनलाई जिल्लाभरका किसानको हितमा हुनेगरी व्यावसायिकरण गर्न जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्