८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुर्खेतमा जीप दुर्घटना हुँदा ९ जना घाइते


0
Shares

सुर्खेत, साउन ८ । सुर्खेतको सिम्ता गाउँपालिका–६, गजौडानजिकै जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे१ज ७७२ नम्बरको सनराइज यातायातको जीप मंगलबार दिउँसो १ बजेतिर दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा कुशे गाउँपालिका–५, जाजरकोटकी तीन वर्षीया प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका–६ की २५ वर्षीया हरिकला रोकाय, २७ वर्षीय मीनप्रसाद महतारा, उनका छोरा दुई वर्षीय आयुस महतारा, चार वर्षीया छोरी मानवी महतरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिए ।

त्यस्तै, सल्यानको कुमाख गाउँपालिका–५ की ५५ वर्षीया विष्णुकुमारी शाही, पूजा बुढाथोकी र राप्ती–सोनारी गाउँपालिका–२, बाँकेका दीपक सेन पनि घाइते भएको सेञ्चुरीले बताए ।

घाइते तीनजनालाई जनबन्धु पोलिक्लिनिकमा सामान्य उपचारपछि नेपालगन्ज पठाइएको र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा रहेको जीप ‘ब्रेकफेल’ भएर सडकदेखि १५ मिटर तल खसेकोे प्रहरीले जनाएको छ ।

जीपचालक बाँके, कोहलपुरका विवेक सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बादे–पिपल, सुर्खेतले जनाएको छ । रासस