
दिवस रिजाल
खोटाङ । ढुङ्गैढुङ्गैको बगैँचा, सुन्दा पनि अनौठो लाग्छ । तर, खोटाङको ककनी डाँडामा ढुङ्गैढुङ्गैको बगैँचा झैँ देखिने दृश्यले अहिले सबैको मन तानिरहेको छ । अहिले यस ठाउँलाई व्यस्थित रूपमा ‘रक गार्डेन’ नामाकरण गरी विकास गरिने भएको छ ।
धार्मिक तथा पर्यटकीय स्थल हलेसीनजिकै रहेको रक गार्डेन हेर्न जानेहरूको संख्या बढ्दै गएको छ । रक गार्डेनमा सबैको चासो बढ्दै जाँदा पर्यटकको आकर्षणसमेत बढ्दै गएको छ । प्राकृतिक रूपमै आकर्षक आकृतिका ढुंङ्गाहरू रहेको स्थललाई ‘रक गार्डेन’को रूपमा विकास गर्न सुरु गरिएपछि पर्यटक आकर्षित हुने विश्वास गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेवस्थाननजिकै यस्ता विभिन्न प्राकृतिक र आकृतिका हजारौं कलात्मक ढुंगाहरू छरपष्ट रूपमा रहेका छन् । हलेसी मन्दिर नजिकै भएकाले पनि अहिले मन्दिर दर्शन गर्न पुग्ने जो कोहिको मन रक गार्डेनले तान्ने कृष्ण आचार्य बताउनुहुनछ ।
उघ्रिएको मौसममा यहाँ पुग्ने जोकोही अनुपम प्राकृतिक छटासँग भुल्न पाउँदा आफैँ हराउन पुग्छन् । प्रकृतिको अनुपम उपहार झैँ देखिने रक गार्डेमा फूलेका सेताम्मे फूलको बासनाले सबैलाईै मोहित बनाइ रहेझैँ पनि देखिने उत्तम चौलागाईंले बताउनुहुन्छ ।
त्यसो त नगरपालिकाले पाँच करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ‘चुरेडाँडा रक गार्डेन’ निर्माणको काम सुरु गरेसँगै हलेसी पुग्ने अधिकांश तीर्थयात्रीहरू रक गार्डेन हेरेरै फर्कने गरेका छन् । प्राकृतिक रूपमा कुदिएको आकृति बनावटका रूपमा रहेका यस्ता ढुंगाहरूको दर्शन गर्न पाउनु धार्मिक दृष्टिकोणले पनि शुभ रहेको ज्येष्ठ नागरिकहरूको भनाइ छ ।
१ सय ६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनीलाई समेटेर आकर्षक रक गार्डेन बनाउने काम थालिएको नगरपालिकाका प्रमुख ईवन राईले बताउनुभयो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा तथा उच्च हिमश्रृङ्खला, तराईका फाँट र वरपरका दृश्यावलोकन गर्न उपयुक्त हुने रक गार्डेनका लागि प्रदेश सरकारबाट यस वर्ष ४० लाख रुपैयाँसमेत विनियोजन भइसकेको छ ।
प्राकृतिक दृष्टिकोणले अत्यन्तै मनोरम तथा अलौकिक ढुङ्गाको आकृतिहरू देख्न पाइने यस बगैँचाको खोज अनुसन्धान तथा संरक्षण गरेर स्थानीय स्तरमा दिगो आम्दानीको श्रोत बनाउन सकिन्छ । यसले खोटाङलाई मात्र नभई नेपालकै एउटा नमुना रक गर्डेन बन्नेमा दुईमत छैन ।
प्रतिक्रिया दिनुहोस्