१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सेजमा दर्ता भएका नौ वटा उद्योगको अनुमतिपत्र खारेज गरिने


0
Shares

भैरहवा । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनको अनुमति लिएर आवश्यक प्रक्रिया अगाडि नबढाउने नौवटा उद्योगको अनुमतिपत्र खारेज गरिने भएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले अनुमति खारेजको प्रक्रिया अगाडि बढाएको हो । ती उद्योगले भैरहवा सेजमा तीन वर्षदेखि सञ्चालनको अनुमति लिए पनि कुनै प्रक्रिया अघि बढाएका छैनन् । उद्योग सञ्चालनको प्रक्रिया नथाली जग्गा मात्रै ओगटेर बसेको भन्दै प्राधिकरणले अनुमतिपत्र खारेज गर्न लागेको हो ।

ती उद्योगले विशेष सेजको १ सय २ रोपनी जग्गा ओगटेर बसेका छन् । सेजको कुल क्षेत्रफलको ४७ प्रतिशत जग्गा ओगटेर बसेका ती उद्योगले ७९ करोड ४९ लाख रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेपछि खारेज गर्ने निर्णयमा पुगेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ ।

उद्योग सञ्चालनमा चासो नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले ती उद्योगसँग स्पष्टीकरण सोधेको थियो । जसमा दुईवटाले मात्रै स्पष्टीकरणको जवाफ पठाएको बताइएको छ । ६८ वटा प्लट रहेको सेजमा १७ उद्योगले दुई अर्ब ६३ करोड ९१ लाख २१ हजार ६ सय २६ रुपियाँ बराबरको लगानी प्रतिबद्धता जनाएका छन् । ६८ प्लटमध्ये ४८ वटा भाडामा लगाइएको छ भने २० वटा प्लट भाडामा लगाउन बाँकी रहेको सेज व्यवस्थापनले जनाएको छ ।