
काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल समूहको युवा संघ नेपालले राष्ट्रिय भेलाको आयोजना गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा जारी भेलालाई वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई जिम्मेवारीमुक्त गरेपछि समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै आएको छ ।
चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको सो समूहले सात वटै प्रदेश तथा विभिन्न विभागमा संयोजकहरु समेत तोकेको छ । यस्तै नेपाल–खनाल समूहले महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को राष्ट्रिय भेला शुक्रबार सम्पन्न गरेको छ । यस्तै सो समूले आगामी मंगलबार विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्