१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तीन वर्षदेखि पार्टीमा लागेको खिया हटाउने प्रयासमा छौं– माधव नेपाल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरूले गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडाैंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले तीन वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरूले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो ।

पूर्ववत् रूपमा रहेका पार्टीका सबै संरचनाहरूको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘तीन वर्षसम्म सबैतिर खिया लागेको थियो, खियालाई हामीले बिस्तारै हटाउँदैछौं ।’

एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको ‘जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ’ भने जस्तै भएको नेपालको टिप्पणी छ । फैसला गलत भए पनि मान्नैपर्ने बाध्यतामा आफूहरू रहेको उहाँको भनाइ छ ।

सर्वोच्च अदालतको फैसलापछि पूर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफूहरूको प्रस्ताव केपी ओलीले नमानेको नेपाल बताउनुहुन्छ । पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै ओली भएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘पूर्व एमाले व्यूँतनु भनेको पुरानो संगठन फेरि व्यूँताउने हो, पूर्व एमाले व्यूँताइसकेपछि कहिले कहाँ कुन मितिमा सुरु हुन्छ ? आज पार्टीमा सबैभन्दा विवादको विषय त्यहीँ छ ।’

मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै नेपालले किसान संघ, उत्पिडीत समुदाय लगायतको राष्ट्रियभेला गरी पुनर्जीवन र पुनर्ताजगी दिने बताउनुभयो ।

उहाँले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफूहरू एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।