
चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले हास्यकलाकारले भन्दा धेरै गोल्ड मेडल पाउने टिप्पणी गर्नुभएको छ ।
शनिबार गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले हास्यकलाकार भन्दा पनि ओलीले बढी जग हसाइरहेको टिप्पणी गर्नुभयो । उहाँले देशमा अब हास्यकलाकाहरूको आवश्यकता नपर्ने भन्दै व्यङ्ग्य गर्नुभयो ।
‘देशमा अब कलाकार र कमेडियनहरूको आवश्यकता परेन, अहिले प्रधानमन्त्री र कलाकारहरूबीच प्रतिस्पर्धा गर्यो भने सिधै ओलीजीले जित्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘उहाँले कलाकारले भन्दा बढी गोल्डमेडल पाउनुहुन्छ ।’
तर, कुराले जनताको भोको पेट नभरिने भन्दै उहाँले कुरामा भन्दा बढी काममा ध्यान दिन आग्रह गर्नुभयो । ‘तर, जनताको पेट कुराले भरिँदैन,’ उहाँले थप्नुभयो, ‘देशको विकास र समृद्धि, जनताको सुखसयल कुराले मात्र पूरा हुँदैन, त्यसको लागि काम गर्नुपर्छ ।’
फरक प्रसङ्गमा महतले विश्वका कयौं देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजितेको उदाहरण दिँदै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो । उहाँले अंकगणितले मात्रै सरकार बन्ने भएकाले अहिलेको अवस्थामा कांग्रेससँग मत नभएकाले चुनावमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
महतले कम्युनिष्टले जनतालाई धोका र सपना मात्रै बाँडेकाले यही मौकामा कांग्रेसले जनताको मत जितेर बहुमत प्राप्त गर्नेगरी लाग्नुपर्ने बताउनुभयो । कांग्रेसमा व्यक्ति ठूलो हुने गरी राजनीति नगर्न आग्रह गर्दै उहाँले एकढिक्का भएर लागे आगामी चुनावमा जित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्