१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यासमा गृहिणी शिक्षा कार्यक्रम : अंग्रेजी पढ्न र बोल्न सिपालु आमाहरू


39
Shares

उपेन्द्र खनाल
तनहुँ । कुनै पनि कुरा सिक्न र जान्न उमेरले छेक्दैन भन्ने उदाहरण तनहुँका ६० वर्ष माथिका आमाहरू बनेका छन् । यो उमेरमा पनि उनीहरूलाई अक्षर चिन्ने चाहनाले विद्यालयसम्म डोहोर्याएको छ । घरायसी धन्दा सकेर छोराछोरीलाई विद्यालय पठाएपछि उनीहरू पढाइ मोहले झोला बोकेरै विद्यालय पुग्ने गरेका छन् ।

व्यास नगरपालिकाको महर्सी वेदव्यास संस्कृत माविमा अध्ययन गर्न जेष्ठ नागरिक आमाहरूको भिडभाड बढेको छ । अधिकांश ६० वर्ष नाघेका आमाहरू अक्षर चिन्नका लागि विद्यालय पुग्ने गरेका छन् । सानो छँदा पढ्ने अवसर नपाएका कारण पनि आमाहरू बुढेसकालमा अक्षर चिन्ने भन्दै पढ्न अग्रसरता देखाएका हुन् । सानो छँदा बुवाआमाले दाइहरूलाई पढ्न पठाएर आफूहरूलाई घरको काम लगाएका कारण पढ्ने अवसर नपाएको उनीहरूको गुनासो छ ।

बिहान सबेरै उठेर छिटोछिटो बिहानको काम सकेर छोराछोरीलाई विद्यालय पठाएपछि फूर्सदिला उनीहरू हतार–हतार घरधन्दा सकेर झोला बोकेर विद्यालय पुग्ने गर्छन् । बुढेसकालमा पनि उनीहरूको रुचि पढाइप्रति देख्दा शिक्षकशिक्षिकासमेत दङ्ग परेका छन् । केही आमाहरू अंग्रेजी सिक्नको लागि पढ्न आएका छन् भने केही आफूले सही समेत गर्न नजानेकाले सिक्न आएको बताउँछन् । अधिकांश आमाहरू भने सानो उमेरमा पढ्ने इच्छा भए पनि बाध्यतावस् पढ्न नपाएकाले पढ्ने इच्छा प्रकट भएर पढ्न आएको बताउछन् ।

विद्यालयले गृहिणी शिक्षा कार्यक्रम सञ्चालन गरेपछि त्यस क्षेत्रका आमाहरूले कखरा सिकिरहेका छन् । ६० कटिसक्नु भएका आमाहरूले पढाइप्रति देखाएको लगाव र रुचिले गर्दा छिमेकी गाउँका आमाहरूसमेत पढ्नको लागि उत्साहित भएका छन् । आमाहरू आएर पठनपाठन गर्दा विद्यालयको पनि गरिमा बढेको छ । पढाइप्रति आमाहरूको मोह देखेर खुसी लागेको विद्यालयका प्रधानाध्यापक बताउनुहुन्छ ।

विद्यालयले गृहिणी शिक्षा कार्यक्रम सुरु गरेपछि दमौली बजार र आसपासका आमाहरू पनि पढाइप्रति आकर्षित भएका छन् । व्यास नगरपालिका– ३ देउरालीनगर बस्ने ६० बर्षीय धनमाया गौली उठ्ने बित्तिकै घरको काम गर्न सुरु गर्छिन् । समयमै काम सकिएन भने विद्यालय जान ढिलाइ हुने र पढाइ पनि छुट्ने चिन्ता उनलाई छ । त्यसैले घरको काम छिटोछिटो सकेर छोराछोरीलाई खाना खुवाई विद्यालय पठाउछिन् र आफू पनि झोला भिरेर विद्यालय पुग्छिन् ।

होम कुमारी धन माया लगायतका दमौलीका छब्बीस जना आमाहरू अहिले विद्यालयमा दिवा कक्षा पढिरहका छन् । उनीहरू उदाहरणीय मात्र नभइ अरूहरूको लागि पनि प्रेरणाको स्रोत बनेका छन् । विद्यालयमा गृहिणी शिक्षा कार्यक्रमा सञ्चालन भएपछि आफूहरूलाई चुनौती र अवसर दुवै मिलेको उनीहरू बताउँछन् । कालो अक्षर भैँसी बराबर भएका आमाहरू अहिले मोबाइलमा म्यासेज गर्न, गीता र रामायण पढ्न थालेका छन् ।

उनीहरूलाई पढ्ने इच्छा त छ । तर, विभिन्न कठिनाइले गर्दा समस्या भएको शिक्षिका बिनु श्रेष्ठको भनाइ छ । अहिले उनीहरू नेपाली प्रष्टसँग बोल्न र अंग्रेजीसमेत उच्चारण गर्न थालिसकेका छन् ।

शिक्षा विभाग अन्तर्गत रहेर व्यास नगरपालिकाको समन्वयमा उक्त विद्यालयमा गृहिणी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । बिहान ११ देखि तीन बजे सम्म गृहिणी शिक्षा कार्यक्रमको पढाइ हुने विद्यालयमा पढ्न आउने आमाहरूको घुइँचो देखिन्छ । पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण दमौलीका आमाहरूले देखाएका छन् । त्यसैले यस्ता आमाहरूको पढाइ मोह अन्य आमाहरूले पनि सिक्नु पर्ने देखिन्छ ।