
काठमाडौं । बेनी–जोमसोम सडक चार दिनका लागि बन्द हुने भएको छ ।
कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम खण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला सडक सुरक्षा समिति मुस्ताङको सोमबार बसेको बैठकले बेनी–जोमसोम सडक पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो ।
समितिले मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकु खोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने भएकाले सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको जनाएको छ ।
कालिगण्डकी करिडोरअन्र्तगत बेनी–जोमसोम ७६ किमी सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ । मुस्ताङ प्रवेश गर्ने काभ्रेभीर सडक बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो ।
बर्खायामको मौसममा पहिरो र नदी कटानका कारण सडक निर्माण बाधा पुग्दै आइरहेको छ । झन्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक निमार्ण २०७४ सालदेखि सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्