
नरेन्द्र मानन्धर
काठमाडौं । नेपालको धार्मिक संस्कृति र संस्कार समन्वयवादमा अडिएको छ । लिच्छवीकालमा बौद्ध स्थलका रूपमा विकसित पशुपति क्षेत्र अहिले सनातन धर्माबलम्बीहरूको आस्थाको केन्द्र हो । यो क्षेत्र बौद्ध लगायतका विभिन्न सम्प्रदायहरूको उद्गस्थल पनि हो ।
सनातन धर्मको आस्थाको केन्द्र हो पशुपतिनाथ मन्दिर क्षेत्र । कुनै बेला बौद्ध क्षेत्रको रूपमासमेत रहेको थियो । लिच्छवीकालमै यहाँ बौद्ध विहार र चैत्य रहेका थिए । देवपतन अर्थात घुलाङमा तन्त्र साधनाको केन्द्र र बज्रयानी बौद्ध सिद्धहरूले साधना गरेको तिब्बती स्रोतमा उल्लेख छ ।
९औं १०औं शताब्दीतिर पहिलोपल्ट सिद्ध जालन्धरीपादले पशुपतिको शिवलिङ्ग फुटाएको मानिन्छ । पछि टुटेको शिवलिङ्गलाई काठले बनेको चैत्यभित्र राखिएको बताइन्छ । १७ औं शताब्दीमा नेपाल आएका छैठौं श्यामार्पाले आफ्नो तीर्थयात्रा बृतान्त ‘भाल्युल धु डोपी लाम्यीग नोर्बु पेल्मे ठेङ्वा’ मा यो तथ्य उल्लेख गरेको बौद्ध विद्धान एवं तिब्बती भाषाविज्ञ पुण्य प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
हालको शिवलिङ्ग १३ औं शताब्दीमा समसुद्धिनको सेनाले तोडफोड गरेपछि बनाइएको शिवलिङ्ग हो । ८४ सिद्धमध्ये सिद्ध विरूपाले यही तपस्या गरेको र हाल विरूपाक्ष नामको मन्दिरसमेत रहेको छ । पराजुलीका अनुसार देवपतनको पशुपति मन्दिर क्षेत्रमा बौद्ध विहार र चैत्यसमेत थिए । यी तथ्यहरू तिब्बती बौद्ध स्रोतमा उल्लेख रहेको उहाँको भनाइ छ ।

मन्दिरभित्र अहिले पनि चैत्य रहेको जानकारहरू बताउँछन् । हालसम्म पनि मुखः अष्टमी र तिकिन्चा पर्वमा शिवलिङ्गमा पञ्चबुद्धको मुकुट र चैत्य पहिर्याएर पूजा गर्ने परम्परा रहि आएको छ । मल्लकालमा मात्र भारतीय भट्टहरूलाई पशुपति मन्दिरको मूल पूजारीको जिम्मा दिइएको हो । पशुपति क्षेत्रमा अहिले पनि भौतिक रूपमा पुरातात्विक र ऐतिहासिक महत्वका बौद्ध सम्पदाहरू रहेका छन् ।
यो क्षेत्र सनातन धर्मको समागम स्थल भएको र बौद्ध, शैव र शाक्तबीच समन्वयबाद स्वभाविक रहेको पराजुलीको तर्क छ । धर्महरू बीचको समन्वयबाद नेपालको मौलिक पहिचान भएको छ । यही मौलिक सांस्कृतिक परम्परालाई विदेशी सांस्कृतिक अतिक्रमणबाट बचाउनु नै नेपालमा अहिलेको प्रमुख चुनौती पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्