१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा उत्पादित कोभिसिल्ड खोप अमेरिकी परीक्षणबाट पनि सुरक्षित र प्रभावकारी प्रमाणित


0
Shares

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालय र भारतीय कम्पनी अस्ट्राजेनेकाले भारतमा विकास गरेको कोभिसिल्ड खोप अमेरिकी परीक्षणमा पनि सुरक्षित र प्रभावकारी पुष्टि भएको छ ।

लक्षणयुक्त संक्रमण रोक्न खोप ७९ प्रतिशत प्रभावकारी र गम्भीर बिरामी हुनबाट रोक्न शत प्रतिशत प्रभावकारी पाइएको हो । अमेरिका, चिलि र पेरुका ३२ हजार भन्दा बढी स्वयंसेवकमा गरिएको परीक्षणमा खोपका कारण रगत जम्ने वा अन्य कुनै जोखिम नदेखिएको पनि जनाइएको छ ।

परीक्षणमा सहभागी मध्ये २० प्रतिशत ६५ वर्षमाथि व्यक्ति रहेका थिए । जसलाई चार हप्ताको फरकमा दुई मात्रा खोप दिइएको थियो । अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई अमेरिकाले पनि सुरक्षित प्रमाणित गरेसँगै युरोपेली देशहरूमा उक्त खोपलाई लिएर बढेको आशंका हट्ने अक्सफर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रयु पोलर्डले विश्वास व्यक्त गर्नुभएको छ ।

खोपले अमेरिकामा अनुमति प्राप्त गर्नका लागि पनि आवश्यक ठानिएको थियो । आगामी केही समयभित्रै खोपले अमेरिकामा पनि प्रयोगको अनुमति प्राप्त गर्ने बताइएको छ । कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणको तथ्याङ्कले खोपलाई थप विश्वसनीय रहेको देखाएको हो ।

युरोपेली औषधि नियामक निकायले समीक्षा गरी सुरक्षित र प्रभावकारी रहेको बताएपछि केही देशहरूले स्थगित गरेको खोप कार्यक्रम पुनः सुरु गरिसकेका छन् ।