
काठमाडौं । दशरथ रङ्गशालामा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आफूहरूले नै जित्ने तीनै देशले दावी गरेका छन् ।
नेपाल, बंगलादेश र कीर्गिस्तानबीच मंगलबारदेखि हुन लागेको प्रतियोगिताको उपाधि आफूहरूले नै जित्ने दाबी तीनवटै देशको रहेको छ । सोमबार आयोजित प्रतियोगिता अगाडिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने बताउनुभयो ।
महर्जनले घरेलु मैदानमा हुने प्रतियोगिताले आफूहरूलाई फाइदा पुग्ने पनि बताएका छन् । उपकप्तान रोहित चन्दले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको बताउनुभयो । नेपाली टिमको कप्तानी भने किरण चेम्चोङले गर्ने भएका छन् ।
यसैबीच मंगलबारको उद्घाटन खेलमा बंगलादेश र कीर्गिस्तान भिड्ने छन् । नेपालको पहिलो भिडन्त कीर्गिस्तानसँग चैत १२ गते हुनेछ । त्यस्तै नेपालले बंगलादेशसँग चैत १४ गते खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने लिगका शीर्ष दुई टिमले फाइनलमा उपाधिका लागि खेल्नेछन् । उपाधि विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्