२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल र बंगलादेशबीच पर्यटन, कृषि र संस्कृति आदानप्रदानलगायत चार वटा विषयमा सम्झौता


0
Shares

काठमाडौं । नेपाल र बंगलादेशबीच चार वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुगेको बेला नेपाल र बंगलादेशबीच ती समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पर्यटन, स्वच्छता, सांस्कृतिक आदानप्रदान र रेलवे सञ्जालसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी राष्ट्रपति महमद अब्दुल हमिदको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको ढाका ट्रिब्युनले जनाएको छ ।

समझदारीपत्रमा हस्ताक्षर हुनुअघि हिजो बेलुका ढाकास्थित क्रेडेन्सियल हल अफ बंगभवनमा दुई देशका अधिकारीबीचको द्विपक्षीय छलफल भएको थियो ।

पर्यटनसम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट पर्यटन सचिव यादवप्रसाद कोइराला र बंगलादेशका हवाइ उड्डयन तथा बंगलादेशका तर्फबाट पर्यटन सचिव महमद मोकमेल हुसेनले हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै सानिटरी र फाइटोसानिटर (एसपीएस) सहकार्यमा भने नेपालका उद्योग सचिव दिनेश भट्टराई र बंगलादेशका कृषि मन्त्रालयका वरिष्ठ सचिव महमद मेस्बल इस्लामले हस्ताक्षर गर्नुभयो ।

त्यस्तै सन् २०२२÷२०२५ को लागि सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्ने समझदारीपत्रमा दुवै देशका संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवले हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै रेलवेसम्बन्धी नेपाल–बंगलादेश ट्रान्जिट एग्रिमेन्टमा बंगलादेशको वाणिज्य सचिव डा. महमद जाफर उद्दिन र नेपालका उद्योग सचिव दिनेश भट्टराईले रोहनपुर–साइबाद रेलवे रुट सुधारका लागि समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।