१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि लम्की तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर


13
Shares

बिराज रोस्यारा
कैलाली । बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि लम्की तनावग्रस्त भएको छ । मृतकका आफन्तहरूले पूर्वपश्चिम राजमार्गको लम्की सडकखण्ड अवरुद्ध पार्नुका साथै ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँका २२ बर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । मृतकको शव ईलाका प्रहरी कार्यालय लम्कीको गेटमा राखेर आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालयभित्र पसेर तोडफोड गर्नुका साथै ड्यूटीूमा रहेका प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभयो ।

‘प्रदर्शनकारीले लम्की चोकमा रहेको प्रहरी बिट जलाए,’ उहाँले भन्नुभयो, ‘ईलाका प्रहरी कार्यालयमै पसेर प्रहरीलाई लतार्दै लैजान थालेपछि हवाइ फायर गर्नुपर्यो ।’

प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले लागेर सशस्त्र प्रहरीका डिएसपी र केही प्रहरी समेत घाइते भएको थापाले बताउनुभयो । सो सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरू अवरुद्ध भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।