
दुर्गा उपाध्याय
कञ्चनपुर । भारतमा दोस्रो चरणमा कोरोना संक्रमण बढेसँगै गड्डाचौकीसहित अन्य चार नाकामा स्वास्थ्य सजकता अपनाउन थालिएको छ । स्वास्थ्यकर्मीले शंकास्पद ठाउँबाट आएका व्यक्तिहरूको एन्टीजेन परीक्षण गरे पनि अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन नसक्दा जोखिम बढेको छ ।
भारतका विभिन्न राज्यहरूमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गरिएको छ । कोरोना कहरकै बीच रोजगारीका लागि भारत गएकाहरू अहिले नयाँ वर्ष मनाउन घर फर्किन थालेपछि नेपालका पश्चिमी सीमानाकाहरूमा चहलपहल बढेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले नाकाहरूमा सजकता अपनाउन थालेको छ ।
संघ र प्रदेश स्वास्थ्य निर्देशनालयको परिपत्र अनुसार अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाकामा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण सुरु गरेका छन् । उनीहरूले भारतका पञ्जाब, महाराष्ट्र लगायतका राज्यबाट भित्रिने तथा शंकास्पद व्यक्तिहरूको एन्टीजेन तथा मलेरिया परीक्षण गर्ने गरेका छन् ।
भारतमा संक्रमण बढेकाले नेपाल भित्रिनेहरूमा संक्रमणको अवस्था जाँच गर्न नाकाहरूमा ऐन्टीजेन परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्ट बताउनुहुन्छ ।
यता, नाकाबाट भित्रिने सबै व्यक्तिको परीक्षण गर्न पर्याप्त किट नभएकाले शंकास्पद ठाँउबाट भित्रिनेहरूको मात्रै स्वास्थ्य जाँच गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दैनिक पाँच सय बढी व्यक्ति भित्रिने गरेकोमा हाल बिहान दुई घण्टामा एकसयको हाराहारीमा परीक्षण भइरहेको छ ।
परीक्षणमा पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्न समस्या भइरहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो भने एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएकाहरुलाई राख्नका लागि आवश्यक तयारी भइसकेको दावी गर्नुहुन्छ ।
प्रदेश स्वास्थ्य निेर्देशनालयले सुदूरपश्चिमका गड्डाचौकी, गौरीफण्टा, बैतडी र दार्चुलाका चार वटै नाकामा एन्टीजेन परीक्षण गर्न परिपत्र गरिसकेको छ भने गड्डाचौकी र गौरीफण्टामा समेत परीक्षण सुरु गरिएको छ ।
तर, कोरोना संक्रमणको दर बढेका बेला व्यवस्थापनको सबै काम भए पनि पछिल्लो समय संक्रमण दर घटेसँगै त्यसमा ध्यान नदिएकाले पुनः कोराना परीक्षण तथा आइसोलेसनको व्यवस्थापन गर्दा समस्या देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन हेमराज भट्टको भनाइ छ ।
नाकामा उच्च सतर्कता, क्वारेन्टिन तथा आइसोलसन र उचित स्वास्थय सामग्रीको व्यवस्थापन नै भारतबाट नेपालमा कोरोना भित्रिन नदिने उपाय हो ।
प्रतिक्रिया दिनुहोस्