१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वयम्भूमा सेनाकाे बलमिच्याइ : मापदण्डविपरित जग्गा ‘कब्जा’, प्रहरी लगाएर पर्खाल


39
Shares

दीपक श्रेष्ठ
काठमाडौं । सडक विस्तारको विषयलाई लिएर काठमाडौंको स्वयम्भूका स्थानीय र नेपाली सेनाबीच विवाद उत्पन्न भएको छ ।

आफूहरूले काठमाडौं उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालले तोकेको मापदण्ड पूरा गरी बाटोको लागि जग्गा छोडे पनि सेनाले भने कानुनको पालना नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

काठमाडौं महानरपालिका–१५ अन्तर्गत जोडोल रोप वे मार्ग स्वयम्भू बारुद खानाको उत्तर सिमानामा काठमाडौं उपत्यका विकास प्राधिकरण, शहरी विकास मन्त्रालयको मापडण्दअनुसार साबिक बाटोको बीच भागबाट ४ दशमलब ४ मिटर छोडी जम्मा ८ मिटर बाटोको प्रस्तावित योजना रहेको छ ।

योजनाअनुसार स्थानीय बासिन्दाहरूले ४ मिटर जग्गा छोडी बाटो सञ्चालनमा समेत आइसकेको छ । तर, सेनाले भने तोकिएको मापडण्डअनुसार बाटो नछोडी बारुद खानाको क्षेत्रमा पर्खाल निर्माण सुरु गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

आफूहरूले छोडेको बाटो भत्काए पनि सेनाले मापडण्दअनुसारको बाटोको लागि जग्गा नछोडेको स्थानीय चन्द्रबहादुर श्रेष्ठ बताउनुहुन्छ । सेनाले यसरी जग्गा ‘कब्जा’ गरेर बस्न नहुने र मापदण्डअनुसार जग्गा छाड्नुपर्ने उनीहरूको भनाइ छ ।

उक्त स्थानमा उपत्यका विकास प्राधिकरणले रेखाङ्कनसमेत गरिसकेको र स्थानीयहरूले कानुनबमोजिम बाटोको लागि ४ मिटर जग्गा छोडी सकेपछि सेनाले पनि मापडण्द अनुसार बाटोको लागि जग्गा छोडेर कानुनको पालना गर्नुपर्ने काठमाडाैं महानगरपालिकाका प्रवक्ता तथा १५ नम्बर वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल बताउनुहुन्छ ।

जग्गा छोड्ने बिषयमा वडा कार्यालयसँगै आफूहरूले पनि सेनाको मुख्यालय, रक्षा मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।