
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आएको बताउनुभएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहसम्वद्ध विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरूलाई स्पष्टिकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ । उहाँले स्पष्टिकरण आफूहरूले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा विघटन गर्ने, एमसीसी जस्ता वितण्डाहरू अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टिकरण सोध्नुपर्ने बताउनुभएको हो । त्यसको जवाफ ओलीले दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईंले प्रतिनिधिसभा विघटन किन गर्नुभयो ?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो ?, तपाईंले पहिल्यै असमान सन्धि समझौताहरू र एमसीसी जस्ता अनेकौं वितण्डाहरू अगाडि किन सार्नुभयो ?,’
उहाँले थप्नुभयाे, ‘तपार्इंले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन ? तपाईंले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरितका काम किन गर्नुभयो ? जनताको जनादेशलाई तपार्इंले किन विखण्डित गर्नुभयो भनेर तपाईं हामी नेपाली जनताले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्छ, सोध्नेछन् । केपी शर्मा ओलीले जवाफ दिनुपर्छ ।’
उपाध्यक्ष रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न समेत गर्नुभयो । अहिले सम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरित भएको बताउनुभयो ।
उहाँले भन्नुुभयो, ‘पार्टी विधान विपरित नवौं राष्ट्रिय महाधिवेसनको फैसला विपरित निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईंहरूले अनुशासन मान्नुभएन तपाईंहरू केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईंलाई स्पष्टिकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनैपनि निर्णय हामी मान्दैनौं ।’
प्रतिक्रिया दिनुहोस्