
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएसँगै मुख्यमन्त्री राईको पद जोगिने भएको छ ।
एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरू पनि सहभागी भएका थिए । अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि पहिलोपटक बसेको दलको बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड पनि गठन गरिएको छ ।
बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलगायतलाई मनोनयन गरेको छ ।
केही समयअघि माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गर्नुभएका टंक आङ्बुहाङ पनि एमाले दलको बैठकमा उपस्थित हुनुभएको थियो । मुख्यमन्त्री राईले मन्त्रीबाट बर्खास्त गर्नुभएका इन्द्र आंग्बोसहित तत्कालिन नेकपाका ३७ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका ५१ सांसद छन् । तीमध्ये माधव समूहका २१ जनाले अविश्वासको प्रस्तावमा हस्तााक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्