१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा, को–को परे ?


0
Shares

anfa

काठमाडौं । कीर्गिस्तान र बंगलादेश सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबलका लागि एन्फाले नेपाली टीमको घोषणा गरेको छ । बुधबार नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टीमको घोषणा गर्नुभएको हो ।

गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् । राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, डिफेन्डर देवेन्द्र तामाङ, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने बिहीबारको खेलमा नेपालले किर्गिस्तानको २३ वर्ष मुनिको टोलीसँग खेल्दैछ । शनिबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । राउण्ड रोबिन लिगको आधारमा शीर्ष दुई टिमले चैत १६ गते सोमबार हुने फाइनलमा उपाधिका लागि खेल्ने छन् । उपाधि विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । तीनै देशका खेलाडी तथा कप्तानहरुले उपाधि जित्ने दाबी गरेका छन् ।

यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्ति जारी गर्दै त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । कोरोना भाइरसको महामारीको खतरा देखिएको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्क र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ ।

नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की
डिफेन्डर : रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान
फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास