
दिपेन्द्र अधिकारी
काठमाडौं । हिन्दकुश क्षेत्रको हिमालय रेन्जमा रहेका ३ हजार ६ सय २४ हिमताल मध्ये ४७ वटा जोखिममा रहेको एक अध्ययनले देखाएको छ । ती मध्ये २१ वटा जोखिमयुक्त हिमताल नेपालमा पर्छन् । जलवायु परिवर्तनका कारण वातावरणमा गम्भीर असर गर्दा हिमतालहरू फुट्ने जोखिम बढे पनि सरकारले उचित ध्यान दिन सकेको छैन ।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा रहेका कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका हिमनदी घट्ने र हिमताल बढ्ने क्रममा छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले गत भदौमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा हिन्दकुश क्षेत्रका ३ हजार ६ सय २४ मध्ये ४७ वटा हिमताल जोखिममा रहेको देखाइएको थियो ।
त्यस मध्ये एउटा भारतमा, २५ ओटा चीनमा र २१ वटा नेपालभित्रै छन् । चीनमा रहेका हिमताल विष्फोट भएको अवस्थामा पनि क्षति नेपालतर्फ नै बढी हुनेछ । २ हजार ७० वटा हिमताल नेपालको राजनीतिक नक्शाभित्र पर्छन् ।
सन् १९७७ मा १ हजार १ सय ६० वटा हिमताल पाइएको कोसी जलाधार क्षेत्रमा सन् २०१० मा २ हजार १ सय ६८ वटा हिमताल भेटिएको थियो । अरू जलाधार क्षेत्रमा पनि हिमताल बढेको पाइएको अनुसन्धानकर्ता सुदन विकास महर्जनले बताउनुहुन्छ ।
सन् १९७७ देखि अहिलेसम्म नेपालका तीन नदीका जलाधार क्षेत्रमा २६ वटा हिमताल विस्फोटका घटना भएका छन् । तीमध्ये १४ वटा नेपालतर्फ भएका हुन् । भू-उपग्रहको तस्वीर मार्फत गरिएको अध्ययनमा कोसी जलाधार अन्तर्गत ४२ वटा, गण्डकी जलाधार अन्र्तगत ३ वटा र कर्णाली जलाधार अन्तर्गत २ वटा हिमताल कुनै पनि समय फुट्ने उच्च जोखिममा रहेको इसिमोडको रिपोर्टमा उल्लेख छ ।
हिमताल विस्फोटबाट आउने बाढीको बहावको घनत्व १ दशमलव ४७ टन प्रतिघनमिटर अनुमान गरिन्छ । आकारमा ठूला रहेका हिमताल फुटे ढुंगासमेत बगाएर ल्याउने र त्यसले १ सय किलोमिटरसम्म क्षति पुर्याउन सक्छ । नेपालमा प्राकृतिक प्रकोपबाट औसतमा प्रतिवर्ष तीन सय ३३ जनाको ज्यान जाने गरेको छ ।
औसतमा एक करोड ७२ लाख ४० हजार अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको तथ्याङ्क छ । तल्लो तटीय क्षेत्रमा असर गर्न सक्ने विषयमा जानकार भए पनि आवश्यक तयारीमा भने ध्यान पुग्न नसकेको जलवायुविद् डा. सुदिप ठकुरी बताउनुहुन्छ ।
इसिमोडका अनुसार नेपालको तापक्रम वृद्धि वार्षिक अधिकतम ०.०५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.००२ डिग्री सेल्सियस छ । यसको असर हिमालय क्षेत्रमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्