
खिलनाथ ताजपुरिया
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै अविश्वास प्रस्ताव नल्याउने भएपछि नयाँ सरकार बन्ने सम्भावना तत्कालका लागि टरेको देखिन्छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने अन्योलमा परेको माओवादी केन्द्र कांग्रेसको निर्णयबाट झन् अप्ठेरोमा परेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारमा नजाने र अविश्वासको प्रस्ताव पनि नल्याउने उद्घोष गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता यात्रा लम्बिने देखिएको छ ।
वैकल्पिक सरकार गठन गर्न कांग्रेस तयार नभएपछि अविश्वासको प्रस्ताव ल्याउन माओवादी केन्द्रलाई समस्या हुने छ । कांग्रेस अविश्वास प्रस्तावको पक्षमा नजाने वित्तिकै ओली नेतृत्वको सरकारको विकल्प नहुने अवस्था छ ।
तर, सरकारबाट समर्थन फिर्ता नलिएको माओवादी केन्द्रलाई अविश्वासको प्रस्ताव अगाडी बढाउने एउटा विकल्प भने जीवितै छ । सरकारको समर्थन फिर्ता लिएमा ओली एक महिनाभित्र सदनमा विश्वासको मत लिन बाध्य हुनुहुनेछ ।
त्यति बेला विश्वासको मत पुग्न नदिन माओवादी केन्द्रले जसपालाई मनाउन सक्नुपर्ने हुन्छ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सदनमा आवश्यक बहुमत अर्थात १ सय ३८ सांसदको समर्थनको लागि प्रधानमन्त्री ओली जसपाको एउटा समूहसँग निरन्तर छलफलमा हुनुहुन्छ । जसपाभित्रको पूर्वराजपा समूह आफ्ना माग सम्बोधन भए वर्तमान सरकारलाई साथ दिन सकारात्मक देखिएको छ ।
यता, प्रधानमन्त्री ओलीका विश्वास पात्र सुवासचन्द्र नेम्वाङ जसपाले राखेका मागका सन्दर्भमा छलफल चलिरहेको र सकरात्मक दिशाउन्मुख भएको बताउनुहुन्छ । ‘हामी जसपाका साथीहरूसँग छलफलमा छौं,’ उहाँ भन्नुहुन्छ, ‘उहाँहरूको मागको सन्दर्भमा छलफल सकारात्मक भइरहेको छ ।’
माओवादी केन्द्रले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने आँट गर्न नसक्नु, कांग्रेस नयाँ समीकरण भन्दा चुनावप्रति आकर्षित हुनु र जसपाको एउटा समूह ओलीसँग निकट हुनुले प्रधानमन्त्री ओली झन् बलियो बन्दै गएको प्रष्ट पार्दछ ।
प्रतिक्रिया दिनुहोस्