२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

संस्कृति बचाउन थारु समुदायको अग्रसरता, आदिवासी जनजाति संग्रहालय स्थापना


0
Shares

प्रकाश लिम्बु
तेह्रथुम । संस्कृति, संस्कार, भाषा र कलाका धनी थारु समुदाय लोप हुन लागेको संस्कृतिको संरक्षणमा जुट्न थालेका छन् । नयाँ पुस्तासँगै संस्कृति लोप हुने अवस्थामा पुगेकाले पहिचान बचाउन एकजुट हुन थालेका हुन् ।

पुस्ता हस्तान्तरण हुन नसक्दा आदिवासी जनजातीहरूको मौलिकता लोप हुन थालेको छ । संस्कृति र मौलिकतालाई संरक्षण गर्ने उदेश्यले उनीहरूले सुनसरीको रामधुनी नगरपालिका शिवनगरमा आदिवासी जनजाति संग्रहालय स्थापना गरेर थारु संस्कृतिको जगेर्ना गर्न लागिएको हो ।

थारु समुदायको सुरुवातदेखि अहिलेसम्मको खोज र अनुसन्धानलाई संग्रहालयमा संग्रह गरिएको संग्राहलय व्यवस्थापन समितिका अध्यक्ष फागुलाल चौधरी बताउनुहुन्छ ।

संग्रहालयको भित्तामा थारु समुदायको जिवनी चित्रण गरिएको छ । थारु समुदायको जिवनी परापुर्व कालदेखि कृषि क्षेत्रमा आस्रित रहेकाले कृषि क्षेत्रलाई संग्रहालयमा जस्ताको तस्तै चित्रण गरिएको देख्न सकिन्छ । संग्रहालय बनेपछि थारु समुदायको भेषभुषा रहनसहन र कला संस्कृति संरक्षण हुने थारु अगुवाहरूको विश्वास छ ।

थारु समुदायको सक्रियतामा स्थापना गरिएको संग्रहालयमा लोप हुन लागेका सामग्रीहरूको संकलन हुँदै आएको छन् । संग्रहालय स्थापनाले थारु समुदायका नयाँ पूस्ताहरू आफ्नो संस्कृतिको बारेमा जान्ने अवसर पाउने आदिवासी जनजाती महासंघको भनाइ छ । थारु जाति आफैँमा पहिचान भए पनि समूदाय भित्रका संस्कृतिको संरक्षण गर्नु पर्ने दायित्व सरकारको भएको सञ्जय सन्तोषी राइको भनाइ छ ।

पुस्ता हस्तान्तरण हुन नसकेपछि आदिवासी जनजाती समुदायको पहिचान र अस्तित्व संकटमा पर्दै गएको छ । लोपउन्मुख कला संस्कृतिको संरक्षण गर्न सके नयाँ पुस्ताहरूका लागि खोज अनुसन्धानको केन्द्र बन्न सक्छ । त्यसैले थारु समूदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणको लागि गरेको मेहनतमा सरकारको पनि केही सहयोग भए समूदायको दिगो पहिचानमा टेवा पुग्ने थियो ।