
विनोदसिंह विष्ट
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए ‘म्याच’ भएको छ ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अदालतको आदेशपछि दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ ।
यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुवालाई आफूले बलात्कार र हत्या नगरेको भनेर बताएका थिए । उनले गाउँपालिकाकै एक कर्मचारीको नाम समेत किटान गरी आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए ।
तर, भागरथीको भजाइनल स्वाबसँग दिनेशको डीएनए मिलेपछि दिनेश नै घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । दिनेशले पुर्पक्षका लागि सुधार गृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।
गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपनि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो । प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो ।
दिनेशलाई २० दिन हिरासतमा राखेर अनुसनधानपछि अदालतमा बुझाएको थियो । जिल्ला अदालत बैतडीले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको थियो ।
सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन् ।
प्रतिक्रिया दिनुहोस्