१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रोकिएन ललिता निवासको जग्गामा घर टहरा निर्माण, एनआरएन र भाटभटेनीको भवन र गोदाम बन्दै


0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयबाट रोक्कामा राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको ललिता निवास जग्गामा घर टहरा निर्माण कार्य भने रोकिएको छैन ।एन आर एनको विशाल भवन र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ्गले झण्डै ४ रोपनी क्षेत्रफलमा गोदाम निर्माण कार्य जारी राखेका छन् ।

सरकारले बालुवाटारस्थित ललिता निवास क्याम्पको जग्गा हिनामिना भएको भन्दै सरकारी सार्वजनिक जग्गा हिनामिना सम्बन्धी छानविन समिति गठन गरेको थियो ।

शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट २०७५ माघ २८ मा ललिता निवासको सम्पूर्ण जग्गा रोक्का राखी छानविन गर्न मालपोत कार्यालय डिल्लीबजारलाइ निर्देशन दिएको थियो ।

कुनै पनि जग्गा जमिनमा मुद्दा परेसँगै निर्माण कार्य यथास्थितिमा राख्नुपर्ने हुन्छ । तर, यहाँ भने मन्त्रिपरिषद्को निर्णय अनुसार मालपोत कार्यालय डिल्लीबजारले जग्गा रोक्का गरेको अवस्थामा पनि पुनः निजी घरटहरा धमाधम निर्माण भइरहेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि बालुवाटारस्थित ललिता निवासभित्र निर्माण भएका घर टहरा हटाउन निर्देशन दिइसकेको छ । मन्त्री शिवमाया तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिनुभयो ।

बुधबार मन्त्रालयले विज्ञप्ति नै जारी गरी घर टहरा निर्माण रोक्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताउनुभयो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।