१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थ्री नेसन्स कपः को–को परे कीर्गिस्तानविरुद्ध खेल्ने ११ जनामा ?


0
Shares

काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा कीगिस्तानको २३ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गर्न नेपालले आफ्नो ११ खेलाडीको नामावली सार्वजनिक गरेको छ । साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपालले ११ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

कीर्गिस्तानविरुद्धको खेलमा नेपालको तर्फबाट कप्तान एवं गोककिपर किरन चेम्जोङसहित अभिषेक रिजाल, अन्जान विष्ट, त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ, रवि पासवान, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशी रहेका छन् । आजकै खेलबाट सञ्जोग र त्रिदेवले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्दैछन् ।

राउण्ड रोबिन लिगको आधारमा शीर्ष दुई टिमले चैत १६ गते सोमबार हुने फाइनलमा उपाधिका लागि खेल्ने छन् । उपाधि विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । तीनै देशका खेलाडी तथा कप्तानहरुले उपाधि जित्ने दाबी गरेका छन् ।

यसैबीच, प्रतियोगिता हेर्न जाने दर्शकका लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्ति जारी गर्दै त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो । कोरोना भाइरसको महामारीको खतरा देखिएको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्क र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ ।