२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमको लोक सेवा आयोगमा बोहोरा नियुक्त, सपथ खुवाउन ऐन संशोधन


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा यज्ञराज बोहोरा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले चैत ९ गते पूर्व प्रशासक बोहोरालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालय सरुवा हुनुभएका बोहोराले लोक सेवा आयोगको अध्यक्ष हुने भएपछि अवकाश हुनु एक महिनाअगाडि राजीनामा दिनुभएको थियो । बोहोरासँगै पूर्वप्रशासक लक्ष्मण खड्का र शिक्षिका भागरथी राना थारू आयोगको सदस्यमा नियुक्त हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोग गठन, काम कर्तव्य तथा अधिकार सम्बन्धी विधेयकमा दोस्रो पटक संशोधन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश लोक सेवा आयोगका पदाधिकारीलाई शपथ खुवाउन बिहीबारको प्रदेश सभा बैठकबाट ऐन संशोधन गरिएको हो ।

यसअघि पनि यस ऐनमा पदाधिकारीको नियुक्तिमा समानुपातिक र समावेशी शब्द छुटेका कारण संशोधन गरिएको थियो । प्रदेश सरकारले लोक सेवा आयोग गठन गर्दै पदाधिकारी नियुक्ति गरेपछि शपथ खुवाउने प्रावधान ऐनमै नभएपछि संशोधन गरिएको हो ।

आयोगमा पदाधिकारी नियुक्त भइसकेका कारण शपथ खुवाउन ऐन संशोधन गर्न छोटो प्रक्रिया अपनाइएको छ । बिहीबार नै प्रदेश सभा सचिवालयमा दर्ता भएको विधेयक ७२ घण्टापछि मात्रै छलफलमा आउने भए पनि संशोधनसम्बन्धी विधेयक प्रदेश सभा नियमावलीको नियम ११० निलम्बन गर्दै पारित गरिएको छ ।