१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रधानमन्त्रीको उद्घोष


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने बताउनुभएको छ ।

बिहीबार पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने बताउनुभएको हो । विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ । हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरिदिन सक्छौँ मल कारखानाका लागि ।’

प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि नाफानोक्सानको कुरै नआउने बताउँदै उहाँले कृषि मन्त्रालयले मल उत्पादन तर्फ पनि किसानलाई तालिम दिन जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडी बढाउन सफल भएको जिकिर पनि गर्नुभयो । हरेक दिन नयाँ उपलब्धि हासिल गर्दै नयाँ उचाइ लिएर अगाडी बढिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।