
नारायणी लामिछाने
काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तविकता हो । भाषा पढाउन र पढेको विद्यार्थीलाई विदेश पठाउन भनि खुलेका कन्सल्टेन्सीले वर्किङ भिसामा विदेश पठाइरहेका छन् । भाषा पढाउने भन्दै दर्ता गरेका कन्सल्टेन्सीले वैदेशिक रोजगार ऐन विपरित कामदार विदेश पठाउने गरेको खुलासा भएको छ ।
गत बुधबार वैदेशिक रोजगारीमा लैजाने भन्दै कन्सल्टेन्सीले रकम मागिरहेको उजुरी वैदेशिक रोजगार विभागमा पर्यो । विभागले अनुगमन गर्दा ग्लोबल इन्फो एजुकेसन एण्ड सर्भिसेज प्रालि र नेक्स्ट हब नामक कम्पनीले वर्किङ भिसामा विदेश पठाउने भन्दै लाखौं रकम उठाएको पनि पुष्टि भयो । उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउन ठिक्क पारिएको थियो ।
विभागको टोली पुग्दा पुरानो बानेश्वरका ग्लोबल इन्फोका सञ्चालक फरार थिए । सञ्चालकले मिडिया र क्यामेरा भएकाले कन्सल्टेन्सी खोल्न नआउने विभागका टोलीसँग बताइरहेका थिए । कसल्टेन्सीमा रकम खातामा जम्मा गर्न आउनेको समेत लामै लाइन थियो ।
ठूलै तामझामका साथ स्थापना गरिएको ग्लोबलले सरकारी स्वीकृति मात्रै पाएको इजरायल लगायतका विभिन्न युरोपेली मुलुकहरूमा पठाउनका लागि विभिन्न व्यक्तिसँग रकम असुलेको पाइएको छ । विभागका अनुसार सञ्चालक अझै पनि सम्पर्कमा आएका छैनन् ।
यस्तै डिल्लीबजारको नेक्स्ट हब नामको कन्सल्टेन्सीमा एक युवाले लिथुनिया जानका लागि ७० हजार रुपैयाँ र पासपोर्ट पनि बुझाइसकेको अवस्थामा भेटिए । लिथुनिया जान ८ लाख रुपैयाँ मागिएका युवकको पासपोर्ट समेत कन्सल्टेन्सीसँग थियो ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारीमा लैजानका लागि कुनै पनि कम्पनीले इजाजत लिनुपर्ने तथा पूर्व स्वीकृति लिइ कामदार छनोट गर्नुपर्ने प्रावधान छ । तर, यस्ता कन्सल्टेन्सीले न इजाजत लिएका छन् न त कामदारको विषयमा नै सोचेका हुन्छन् । कानुनविपरित चलेको यस्ता कम्पनीलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्