
दीपक श्रेष्ठ
काठमाडौं । विज्ञापन खुला बजार अर्थतन्त्रको अभिन्न अंग हो । तर, विज्ञापन गर्ने नाममा शहरी क्षेत्रको स्वरुप नै बिगार्ने गरी प्रचार सामग्री प्रदर्शन गर्ने क्रम भने तीव्र भएको छ ।
ठाउँठाउँमा देखिने अशोभनिय होर्डिङ र फ्लेक्स बोर्डले ‘सुन्दर र हराभरा काठमाडौं’ भन्ने नारालाई गिज्याएको भान हुन्छ । काठमाडौंका गल्ली–गल्ली मात्र नभइ मुल सडकका भित्ता र सडक छेउका बिजुलीका पोलमा गरिने यस्ता विज्ञापनहरूले आँखा मात्रै बिझाउँदैन शहरलाई समेत कुरुप बनाइरहेका छन् ।
सर्वसाधारणको ध्यान तान्नका लागि टाँसिएका पम्प्लेटहरू सार्वजनिक स्थान, निजी घर, पसल र भित्ता–भित्तामा टाँसिएका देख्न पाइन्छन् । धुलो, धुँवा, बिजुलीका पोलमा गुजुल्टिएका तार र सडकका खाल्डाखुल्डीले कुरूप बनाइरहेको शहरमा यस्ता प्रचार सामग्रीले झन् हेर्न नहुने बनाइरहेको हुन्छ ।
काठमाडौं महानगरपालिकाले होर्डिङ वोर्ड तथा प्रचारप्रसार सामग्री नियमन गर्ने नीति २०७० जारी नगरेको पनि होइन । तर, त्यसको कार्यान्वयन हुन नसक्दा शहर कुरुप बन्दै गएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल स्वीकार्नुहुन्छ ।
महानगरपालिकाले मापदण्ड विपरित र निषेधित स्थानमा राखिएका बोर्ड तथा प्रचार प्रसार सामग्री बेला बेलामा हटाउने गरे पनि निरन्तरता ननिँदा यस्तो अवस्था बनेको हो । वडा कार्यालयहरू र टोलमा रहेका जनप्रतिनिधिहरुको पनि छरपस्ट र मनपरी रूपमा गरिने विज्ञापनप्रति ध्यान गएको पाइँदैन ।
त्यसो त आफू बस्ने टोल र शहरको सुन्दरताप्रति सर्वसाधारणको पनि दायित्व हुनुपर्ने हो । त्यसमाथि अहिलेको डिजिटल युगमा भित्ता र बिजुलीका पोलमा विज्ञापन गर्दै हिड्नु आफैँमा नसुहाउने विषय पनि हो ।
प्रतिक्रिया दिनुहोस्