
काठमाडौं । विश्वको सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौंमा देखिएको छ ।
विश्वभरका शहरहरूको हावाको शुद्धता मापन गर्ने स्वीट्जरल्याण्डको आइक्यूएयर डटकमका अनुसार शुक्रबार साँझको हावा विश्वकै सबैभन्दा दुषित भएको देखाएको छ ।
मध्यान्हदेखि शुरु भएको तुँवालोले अपरान्हतिर भने पूरै शहर ढाकेको हो । बाक्लो तुँवालोका कारण आँखा पोल्ने र खोकी लाग्ने समस्या भएको छ ।
उक्त वेबसाइटका अुनसार शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा काठमाडौंको हावाको गुणस्तर २ सय ९४ रहेको छ, जुन एकदमै स्वास्थयको लागि एकदमै अस्वस्थ हो ।
ललितपुरको भैंसेपाटी क्षेत्रमा वायु प्रदुषणको तह ४७० एक्युआईसम्म पुगेको जनाइएको छ । यस्तै भक्तपुरमा ३०५ र कीर्तिपुरमा २२१ रहेको छ ।
हावाको गुणस्तर नराम्रो भएको दोस्रो स्थानमा चीनको राजधानी बेइजिङ परेको छ । त्यहाँको हावाको गुणस्तर १ सय ८३ रहँँदा तेस्रो स्थानमा भारतको मुम्बइको हावाको गुणस्तर १ सय ७४ छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा भएको आगलागी र पश्चिमी वायुको आशिंक प्रभावका कारण काठमाडौंमा प्रदुषण बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगलागीबाट निस्किएको धुँवालाई पश्चिमी वायुले काठमाडौं ल्याएकाले हावाको गुणस्तर खस्किएको महाशाखाका मौसमविद् वरुण पौडेलल जानकारी दिनुभयो । अहिल रसुवा, नुवाकोट र काठमाडौं लगायतका जिल्लाको हावामा धुँवामा मात्रा अत्यधिक छ ।
उपत्यकामा धुवाँ र धुलोसहितको वायु प्रवेश गरेको र यहिँको आकाशमा अडिएकाले यस्तो समस्या आएको मौसमविद्हरुले बताएका छन् । पछिल्ला केही दिन यता देशका विभिन्न स्थानमा लागेको डढेलोको प्रभाव पनि परेको वातावरणविद्हरुले बताएका छन् ।
वायु प्रदुषणले आँखा पोल्ले, घाँटी चिलाउने र खोकी लाग्ने समस्या बढाएको छ । चिकित्सकहरुले बालबालिका र वृद्धवृद्धालाई छिटो असर गर्ने भन्दै चिकित्सकहरुले घर बाहिर ननिस्किन भनेका छन् ।
तुँवालोले भिजिविलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण तीन घण्टा अवरुद्ध भयो । दिउँसो दुई बजेपछि बन्द भएको विमानस्थल अपरान्ह साढे ५ बजेपछि मात्रै खुलेको थियो । त्यस बीचमा काठमाडौं आइरहेका केही विमानहरु डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्