
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
टेलिकमको शुक्रबार बसेको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश पारित गरेको हो ।
साधारणसभाले वार्षिक प्रतिवेदन पास गर्ने, अनुसूचीहरू परित गर्ने र आर्थिक वर्ष २०७७/०७८ को लागि महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिसमा लेखापरीक्षक नियुक्त गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताउनुभएको छ ।
साधारणसभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधिमा अम्बिकाप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको पनि प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
साधारणसभामा शेयरधनीहरूले राखेको जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष र कार्यकारी प्रमुखले दिनुभएको पनि प्रवक्ता जोशीले बताउनुभयो । टेलिकमले गत आर्थिक वर्षमा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ९९ पैसा रहेको छ । गत आर्थिक वर्षमा टेलिकमको कुल ग्राहक संख्या २ करोड पुगेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्