
बिराज रोस्यारा
कैलाली । टीकापुरमा भएको ज्यानमुद्दामा दोषी ठहरिएका रेशम चौधरी रिहाइ र मुद्दाबारे वार्ताका लागि सरकार सकारात्मक देखिएपछि वार्ता गर्नका लागि ६ सदस्यीय टोली गठन गरिएको छ ।
टीकापुर घटनामा दोषी ठहर भएर अर्धभूमिगत रहेका थरुहट नेताहरू र बन्दीका परिवारको संयुक्त भेलाले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको हो । टोलीको संयोजकमा रेशम चौधरी नै रहनु भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
वार्ता टोलीको सदस्यहरूमा अर्धभूमिगत रहनु भएका थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारु, रामप्रसाद चौधरी, चुनीराम चौधरी रहनुभएको छ । यसैगरी, बन्दीका परिवारको तर्फबाट बिना चौधरी र यमुना चौधरी वार्ताको टोली सदस्यमा हुनुहुन्छ ।
सरकार वार्ताका लागि तयार हुनु स्वागत योग्य रहेको बन्दीका परिवारको बुझाइ छ । उनीहरूले टीकापुर घटनाको मुद्दा खारेजी र बन्दी रिहाइका लागि पहल गर्नु हुने सबैलाई धन्यवादसमेत दिनु भएको छ । रेशम चौधरीसहितका बन्दीलाई रिहाइ र टीकापुर घटनाको मुद्दा खारेजीका लागि रेशमलाई जेलबाहिर निकालेर तत्काल वार्ता सुरु गर्न नेता लक्ष्मण थारुले सरकारलाई आग्रह गर्नुभयो ।
थरुहट थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मीको ज्यान गएको थियो । सोही क्रममा गोली लागेर एक बालकको पनि मृत्यु भएको थियो । सो घटनाको मुद्दामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित आठ जनालाई आजीवन कैद सजाय सुनाएको छ ।
यसैगरी, तीन जनालाई १० वर्ष कैद सजाय सुनाइएको छ । दोषी ठहर भएका छ जना कैद सजाय भुक्तान गरिसक्नु भएको छ । टीकापुर घटनाको मुद्दा फिर्ता लिएमा सरकारलाई समर्थन गर्ने जनता समाजवादी पार्टीले शर्त राखेपछि अहिले फेरि टीकापुर घटना चर्चामा आएको छ ।
प्रतिक्रिया दिनुहोस्