
नरेन्द्र मानन्धर
काठमाडौं । नेपाल प्राचिनकालदेखि तन्त्रसाधनाको उर्वरभूमी हो । यसमध्ये तन्त्र साधकहरूका लागि देवपतन पशुपति क्षेत्र एक महत्वपूर्ण स्थल हो । यो शैव र शाक्तहरूको लागि मात्र नभइ बौद्ध तन्त्र साधकहरूको पनि कर्मस्थल हो ।
बौद्ध धर्मको मूल लक्ष्य निर्वाण प्राप्त गर्नु हो । तर, बज्रयान बौद्ध धर्ममा महासुख प्राप्तिमा जोड दिइन्छ भने शून्यता र प्रभास्वर युगनद्ध सहज अवस्था प्राप्तिका लागि अभिषेक प्राप्त गरी सिद्धको निर्देशन बमोजिम देव उत्पति तथा सम्पन्न क्रमको अभ्यास गरिन्छ ।
जसको लागि श्मसान क्षेत्र, एकान्त स्थल र गुफाहरू आवश्यक पर्दछ । तसर्थ देवपतन, पाशुपत अथवा पशुपति क्षेत्र एक यस्तै स्थलको रूपमा सिद्धहरूले प्रयोग गर्दै आएका छन् । यसमा तिलोपा र नारोपा गुफाहरूमा सिद्धहरूले साधना गरेका थिए ।
८४ सिद्धहरू मध्ये तिल्लीपाद (तिलोपा), नाडपाद (नारोपा), शवरीपा, मार्पा लोचाव, मिलारेपा, गोरक्षपाद (गोरखनाथ), जालन्धरीपा र मित्रयोग जस्ता सिद्धहरू यस क्षेत्रसँग जोडिएका छन् । यी सिद्धहरूले यहि क्षेत्रहरूमा साधना गरेको इतिहास तिब्बती स्रोतहरूमा सुरक्षित छ । सिद्धहरूले पशुपति क्षेत्रमा नै सिद्धि प्राप्त गरेर तिब्बती बौद्ध धर्मको विभिन्न सम्प्रदायको विकास गरेको पाइन्छ ।
गुरु पद्मसम्भवले पाशुपत क्षेत्रमा अनाभोगकुट श्मसानमा साधना गरेका थिए । त्यस्तै महासिद्ध तिलोपा र नारोपाले गुफामा साधना गरेका थिए । सिद्ध येशे छोग्यालले बाग्मतीको दोभानमा सिद्धि प्राप्त गरेको बताइन्छ ।
भारतमा बौद्ध धर्म ओरालो लागेपछि बज्रयानी सिद्धहरू नेपाल प्रवेश गरेका थिए । दोस्रो नेपाल भोट युद्धको बेला ताइ फो सिङ लामा तिलोपा र नारोपा गुफामा तन्त्र साधना गरेर बसेको जनाइन्छ । बौद्ध विद्धान तथा तिब्बती भाषाको ज्ञाता पुण्यप्रसाद पराजुलीका अनुसार इशाको सातौं शताब्दीमा बौद्ध धर्म नेपालबाट तिब्बतमा विस्तार भएको हो ।
धेरै बज्रयानी सिद्धहरूले पाशुपत क्षेत्रमा नै सिद्धि प्राप्त गरेको १७ औं शताब्दीमा नेपाल आएका छैठौं स्यामरले लेखेको ग्रन्थमा उल्लेख रहेको पराजुली बताउनुहुन्छ । नेपाललाई तान्त्रिक पीठ उपछन्दोहको रूपमा तिब्बती ग्रन्थहरूमा उल्लेख गरिएको छ । पशुपतिको शिवलिंगसमेत बौद्ध चैत्यभित्र राखिएको उल्लेख गरिएको छ ।
हालको सूर्यघाट योगी तथा बौद्ध तान्त्रिकहरूको पीठ साधना स्थलको रूपमा रहेको पराजुलीको भनाइ छ । पशुपति क्षेत्र सनातन धर्म सभ्यताको विशाल केन्द्र हो । तसर्थ संकुचित मानसिकताबाट माथि उठेर यहाँ रहेको मौलिक सभ्यताको अध्ययन अनुसन्धान गरेर प्रकाशमा ल्याउन जरुरी देखिन्छ । ताकी नेपालको मौलिक पहिचानलाई जर्गेना गर्न सकियोस् ।
प्रतिक्रिया दिनुहोस्