२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


जौबारीमा पर्यटकीय चहलपहल बढ्दो


260
Shares

प्रकाश नेपाल

इलाम । आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सन्दकपुर जानका लागि मुख्य मार्ग बनेको जौबारी आफैमा एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । भारततर्फ वन्यजन्तु संरक्षित क्षेत्र भएकाले बस्ति नभएकाले नेपाल तिर पर्ने जौबारीमा पर्यटकहरु बास बस्नका लागि आउने गरेका छन् ।

होटल व्यवसाय फस्टाउदै गएको जौबारीमा विकास पुर्वाधार भने अभाव रहेको छ । व्यवसायी सोनाम लामाले लकडाउनपछि अलि राम्रो भएको बताउनुहुन्छ । आन्तरिक पर्यटकहरु आउने गरेको बताउदै उहाँ भन्नुहुन्छ ‘बाटोको समस्या छ ।’ बाटो राम्रो भए पर्यटक तान्न सकिने उहाँको भनाइ छ ।

कंचनजंगा लगायतका हिम श्रृखलाहरुको अवलोकनका लागि पनि पर्यटकहरु आकर्षित हुने गरेका छन् । भारतीय सीमा क्षेत्रबाट आउने पर्यटकहरु बाहेक नयाँबजार जौबारी सडकबाट पनि आन्तरिक पर्यटकहरु आउने क्रम बढ्न थालेको छ । नेपाल तर्फ सीमा सडक बन्ने क्रममा रहेकाले वर्षायाममा खाद्यान्न लगायतका सामग्री ढुवानीमा समस्या रहेको छ ।

जौबारीका अर्को व्यवसायी लाक्पा भोटियाको समस्या पनि उस्तै छ । पहिलेजस्तो सहज तरिकाले सामानहरु ल्याउन पाइदैन नेपालबाट ल्याउनलाई बोटोको समस्या रहेको उहाँको भनाइ छ ।

रेडपाण्डा लगायतका वन्यजन्तु पाइने, केशर लगायतका बहुमुल्य जडिबुटि खेतिका लागि नाम कमाएको जौबारीमा स्वास्थ्य केन्द्र र पर्यटकहरुका लागि चाहिने सुविधा छैन । तुम्लिङ, मेघ्मा, कैयाकट्टा, नुनथला आसपासका बासीन्दाका लागि जौबारीमा स्वास्थ्य चौकीको पहल गर्न स्थानीयको माग छ भने पर्यटकहरुका लागि बैक तथा एटीएम काउण्टर र टेलिफोन इन्टरनेट सुविधाको चाडो पहल गर्नुपर्ने देखिन्छ।