
काठमाडौं । बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको छ । सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरूको सहभागिता रहेको थियो । नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा प्रस्तुत गरिएको छ ।
मार्च महिनाको अन्तिम शनिबार, विश्वभरी छरिएर रहेका नेवाः समुदाय विभिन्न कार्यक्रम गरी चौथो विश्व नेवाः दिवस मनाउने गर्छन् । विश्व नेवाः संगठन, नेपाल च्याप्टरले कार्यक्रमको आयोजना गर्दै नेवाः समुदायको उत्थानको लागि विभिन्न क्षेत्रबाट योगदान व्यक्तित्व र संस्थालाई सम्मान गरेको हाे ।
भाषा र सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको भन्दै लक्ष्मीदास मानन्धर र मोतिलाल शिल्पकारलाई सम्मान गरिएको थियो । संगीत क्षेत्रबाट जनगायक भृगुराम श्रेष्ठ, संस्कृति क्षेत्रबाट प्राध्यापक प्रेमशान्ति तुलाधर, साहित्यमा कवि भूषणप्रसाद श्रेष्ठ, कला क्षेत्रमा राजकुमार शाक्य र खेलकुदबाट सब्बारानी महर्जनलाई सम्मान गरियो । नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागत सम्मान दिइएको थियो ।
त्यसैगरी स्वर्गीय गायक रमेश ताम्राकारको सम्झनामा स्थापित सम्मान गायक जुजुकाजी रंजितलाई दिइयो भने सगरमाथाको उत्तरी र दक्षिणी दुवै मोहडाबाट सगरमाथा आरोहण गरी वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल महिला पत्रकार कल्पना महर्जनलाई पनि सम्मान गरिएको थियो । उहाँहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दोसल्ला ओढाइ सम्मान पत्रसहित अभिनन्दन गर्नुभयो ।
कार्यक्रममा नेवाः समुदायलाई सहयोग पु¥याउँदै आएका विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । सो क्रममा ईमेज च्यानलका महाप्रवन्धक रघुवरभक्त मानन्धरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मेयर शाक्यले समुदाय समुदाय मिलेर राष्ट्रको विकासमा जुट्नुपर्ने बताउनुभयो ।
कमलपोखरीमा कंक्रीटको पोखरी बनाउन लाग्यो भनि केही समूहले भ्रामक प्रचार गरेको मेयर शाक्यको भनाइ थियो । विश्व नेवाः संगठनले गएको ४ वर्ष अघिदेखि मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएको छ । अमेरिकाको बाल्टिमोरमा संगठनको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्