
काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताका लागि ललितपुर मेयर–११ को टिम घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज सरस्वती चौधरीको कप्तानीमा ललितपुर मेयरको टिम घोषणा गरेको हो । क्यानले घोषणा गरेको १४ सदस्यीय टिममा कविता गौतम, विमला मगर, सुमन खतिवडा, आरती बिडारी,केनुका बस्नेत र अलिशा लामिछाने रहेका छन् ।
यस्तै अनुराधा चौधरी,शोभा आले,बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली रहेका छन् । मेयर कप चैत २१ देखि २८ गतेसम्म आयोजना हुनेछ । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी–ट्वान्टी फर्म्याटको हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५÷१५ हजार पाउने छन् । हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्