
काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुककोे शिक्षा, स्वास्थ्य, सम्पदा र वातावरणको अवस्था बिग्रेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
कालिनाग मावि दोलखाको पूर्व विद्यार्थी समाजले शनिबार काठमाडौंमा आयोजना गरेको शैक्षिक अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा डाक्टर यादवले शिक्षा क्षेत्रमा राजनीति गर्दा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो ।
‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहँदा शिक्षालाई सक्रिय सदस्य तथा शिक्षक संगठनलाई भातृ संगठन बनाउन नहुने भन्दा म अल्पमतमा परेको थिएँ,’ उहाँले भन्नभुयो, ‘त्यसको परिणाम अहिले शिक्षा क्षेत्रले भोग्नु परेको छ ।’ मधेशमा शैक्षिक सुधारको चेतना अहिलेसम्म पुग्न नसकेको यादवको भनाइ थियो ।
शिक्षाविद् विद्यानाथ कोइरालाले पूर्वीय दर्शन र अध्यात्म शिक्षालाई व्यवहारिक रुपमा पठनपाठन गराउनुपर्ने बताउनुभयो । विद्यार्थीको क्षमता पहिचान नगरी व्यावहारिक ज्ञानलाई बेवास्ता गरेर किताव घोकाउँदैमा शैक्षिक उपलब्धि हासिल हुन नसक्ने उहाँको भनाइ थियो । पूर्व विद्यार्थी समाजका अध्यक्ष जगदीश खरेलले दोलखामा मात्र नभएर मुलुकै शिक्षा क्षेत्रको रुपान्तरण कसरी गर्न सकिन्छ भनेर आफूहरूले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व प्राध्यापकहरु तारानाथ शिवाकोटी, विदुर शर्मा, राम बहादुर शिवाकोटी, मुकुन्दराज शिवाकोटी र गोपाल गैरेलाई सम्मान गरिएको थियो । कालिनाग माध्यामिक विद्यालय तीन सय २२ नमूना विद्यालय मध्ये एक हो ।
प्रतिक्रिया दिनुहोस्