६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


काठमाडौंको वायु प्रदूषण अझै आएन सुधार, सावधानी अपनाउन आग्रह


0
Shares

काठमाडौं । काठमाडौं सहित देशका विभिन्न भागमा कायम वायु प्रदूषणमा आज पनि सुधार आउन सकेको छैन । बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरुले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र यसबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गएको हो ।

आज पनि उपत्यका सहित चितवन, सिमरा, हेटौँडा लगायतका क्षेत्रको वायु मानव स्वास्थ्यका लागि घातक अवस्थामा रहेको जनाइएको छ ।

विश्वका प्रदूषित शहरको सूचीमा हाल दोस्रो स्थानमा रहेको काठमाडौको वायुको गुणस्तर सुचांक (एक्यूआई) ३६८ छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थ मानिन्छ तर, राजधानीको अहिलेको एक्युआई ४०० भन्दा माथि छ जुन अत्यन्त घातक हो ।

एक्युआई ३०० भन्दा बढी हुनु नै निकै घातक हुने विज्ञहरुको भनाइ छ । प्रदूषणको कारण स्वास्थ्यमा असर पर्नसक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।