
काठमाडौं । आज मार्च महिनाको अन्तिम शनिबार, विश्वभरी छरिएर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गरी चौथो विश्व नेवाः दिवस मनाएका छन् ।
यसै सन्दर्भमा विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको वसन्तपुरमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेवाः समुदायको उत्थानको लागि विभिन्न क्षेत्रबाट योगदान व्यक्तित्व र संस्थालाई सम्मान गरिएको थियो ।
भाषा र सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको भन्दै लक्ष्मीदास मानन्धर र मोतिलाल शिल्पकारलाई सम्मान गरिएको थियो भने संगीत क्षेत्रबाट जनगायक भृगुराम श्रेष्ठ, संस्कृति क्षेत्रबाट प्राध्यापक प्रेमशान्ति तुलाधर, साहित्यमा कवि भूषणप्रसाद श्रेष्ठ, त्यसैगरी कला क्षेत्रमा राजकुमार शाक्य र खेलकुदबाट सब्बारानी महर्जनलाई सम्मान गरियो ।
नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागत सम्मान दिइएको थियो । त्यसैगरी स्वर्गीय गायक रमेश ताम्राकारको सम्झनामा स्थापित सम्मान गायक जुजुकाजी रंजितलाई दिइयो भने सगरमाथाको उत्तरी र दक्षिणी दुवै मोहडाबाट सगरमाथा आरोहण गरी वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल महिला पत्रकार कल्पना महर्जनलाई पनि सम्मान गरिएको थियो ।
उहाँहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दोसल्ला ओढाइ सम्मान पत्रसहित अभिनन्दन गर्नुभयो । कार्यक्रममा नेवाः समुदायलाई सहयोग पु¥याउँदै आएका विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । सो क्रममा ईमेज च्यानलका महाप्रवन्धक रघुवरभक्त मानन्धरलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा मेयर शाक्यले समुदाय समुदाय मिलेर राष्ट्रको विकासमा जुट्नुपर्ने बताउनुभयो । कमलपोखरीमा कंक्रीटको पोखरी बनाउन लाग्यो भनी केही समूहले भ्रामक प्रचार गरेको उहाँको भनाइ थियो । विश्व नेवाः संगठनले गएको ४ वर्ष अघिदेखि मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएको छ । अमेरिकाको बाल्टिमोरमा संगठनको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्