१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले काम नदिँदा प्रतिनिधिसभा बैठक औपचारिकतामा सीमित


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको पुनःस्थापना भई अधिवेशन बोलाइए पनि सरकारले विजनेश नदिँदा औपचारिकतामा सीमित बनेको छ । अर्को तर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधिसभा विजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ ।

संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहरू परिपुरक भएर सम्पादन गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि अधिवेशन बोलाइए पनि विजनेश नपाउँदा अहिले सम्म बसेका बैठक औपचारिकतामा सिमित बन्न पुगेका छन् ।संसदलाई प्रभावकारी बनाउन अहिले राष्ट्रिय सभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ ।

सरकारले विजनेश छैन भनिरहँदा प्रतिनिधिसभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रिय सभाको लागि विजनेश हुने देखिन्छ । प्रतिनिधि सभामा ३६ वटा विचाराधीन अवस्थामा रहेका विधेयकहरू मध्ये ४ वटा विधेयक प्रतिनिधि सभामा पेश भएर रहेको अवस्थामा अगाडी बढाउन सकिने संघीय संसदका सह–प्रवक्ता दशरथ धमलाले बताउनुभयो । सभामा पेश गर्न तयारी अवस्थाका विधेयकहरूलाई पनि अगाडी बढाउन सकिने प्रवक्ता धमलाले बताउनुभयो ।

यता प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्नुपर्ने अध्यादेशहरू अहिलेसम्म(एकवटा बाहेक) पेश भएका छैनन् । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न जारी गरिएको अध्यादेश मात्र सभामा पेश भएको छ । कांग्रेस लगायतका दलले विरोध गरेको अध्यादेश संसद बैठकमा टेबल भइसकेको र बाँकी अध्यादेशमा बिरोध नै नरहेको अवस्थामा पनि अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश भएका छैनन् ।

संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालु प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ । पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सह–प्रवक्ता धमलाले बताउनुभयो ।

सत्तारुढ दल भित्रको अन्तरकलह र विपक्षी दलको निस्क्रियताले संघीय संसदको दुवै सदन निस्काम बनेका छन् । प्रतिनिधि सभाले विजनेश नपाएर अन्त्य हुने अवस्थामा पुगेको छ भने सरकारले विभिन्न प्रयोजनको लागि जारी गरेको अध्यादेश पनि संसद बैठकमा पेश नभई निस्क्रिय बन्ने देखिन्छ ।