१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ईमेज समाचार प्रभाव : भुमाफियाको चङ्गुलबाट फुत्काइयो चन्द्रागिरीको जग्गा


0
Shares

एलबी विश्वकर्मा, नारायणी लामिछाने
काठमाडौं । चन्द्रागिरी नगरपालिकामा अनैतिक तवरबाट अतिक्रमण गरिएको जग्गा नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको छ । गत बिहिबार इमेज च्यानलबाट जग्गा अतिक्रमण गरिएको समाचार सम्प्रेषण भएपछि नगरपालिकाको ध्यान आकर्षण भएको हो ।

नगरपालिकाको वडा नम्बर ३ स्थित त्रिवेणी खोलामा चूडामणि गौतम समूहले अनैतिक तवरले सार्वजनिक जग्ग अतिक्रमण गरेको थियो । खोलाको विभिन्न स्थानमा गरेर गौतम समूहले झण्डै ४ करोड मुल्य पर्ने २ रोपनी जमिन अतिक्रमण गरेको हो ।

नगरपालिकाका मेयर घनश्याम गिरी आफैँ फिल्डमा पुगेर जग्गा नापजाँच गर्न लगाउँदा दुई रोपनीभन्दा बढी जमिन अतिक्रमण भएको खुलेको हो । जग्गाको बारेमा आवाज उठाउँदा गौतम समूहले आफूलाई ज्यान मार्ने सम्मको धम्की आएको स्थानीय उत्तम कार्कीले बताउनुभयो ।

नगरपालिकामा जग्गा प्लटिङका नाममा भुमाफियाहरूको लुट बढ्दै गएको छ । यहाँ प्लटिङका नाममा अनैतिक तवरबाट जग्गा खार्ने, माटो पुर्ने, रुख फडानी गर्ने, जंगल मास्ने, खोला र सार्वजनिक जग्गाहरू अतिक्रमण गर्ने कार्यहरू भइरहेका छन् ।

मालपोत र नगरपालिकाका घुस्याहा कर्मचारी र केही जनप्रतिनिधिको संलग्नतामा भूमाफियागिरी मौलाइरहेको छ । यस क्षेत्रमा एक वर्षअघि फराकिलो देखिने खोला अर्को वर्ष हराएको हुन्छ । नगरपालिकाले सुइको समेत पाउँदैन । यस्ता गतिविधि गर्न गौतम समूह जस्तै अन्य कैयौं समूहहरू सक्रिय छन् । यद्यपि नगरप्रमुख घनश्याम गिरी सबै सार्वजनिक जमिन फिर्ता गर्ने दावी गर्नुहुन्छ ।

स्थानीयका अनुसार वडाध्यक्ष समेत मनोमानी गरिरहेका छन् । वडा नम्बर ३ कै वडाध्यक्षले समेत सरकारी जमिन अतिक्रमण गरेको स्थानीयको आरोप छ । नगर प्रमुखको सक्रियतामा भूमाफियाबाट जग्गा फिर्ता ल्याउन खोज्दा आफ्नै पोल खोलिने त्रासले उहाँ उपस्थित नभएको स्थानीय कार्कीको आरोप छ ।

गौतम समूहले कब्जा जमाएको खोलालाई पछ्याउने मात्रै हो भने पनि त्यहाँ त्यस्ता थुप्रै स्थानमा अतिक्रमण गरिएको भेटिने छ । गौतम समूहले अतिक्रमण गरेको जग्गासँगै जोडिएको जमिनमा समेत शर्मा एण्ड शर्मा कम्पनीले खोला नै गायब पारेर प्लटिङ गरेको छ ।

यस्तै अधिकांश स्थानमा घर, टहराहरू समेत बनाइएका छन् । सार्वजनिक जमिनमा धमाधम संरचना निर्माण गर्दा पनि स्थानीय सरकार किन मौन ? हामी निरन्तर फलोअपमा छौं ।