
केशव कोइराला
बर्दिया । माछा मारेर जिविकोपार्जन गर्दे आएको बर्दियाका सोनाह समूदायको पुख्यौली पेशा संकटमा पर्दे गएको छ । झण्डै १२ सयको हाराहारीमा रहेको यो समुदाय बर्दियाको गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा बस्दै आएका छन् ।
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लागु गरेर कर्णाली नदीवाट सुन चाल्न र माछामार्न प्रतिबन्ध लगाएपछी सोनाहको पुख्यौली पेशा लोप हुँदै गएको हो । सधै माछा मार्नमै तल्लीन देखिने यो समूदायमा शिक्षाको कुनै प्रभाव पर्न सकेको छैन् ।
जसले गर्दा यस समुदायका बालबालिकासमेत खोला र नदीमा माछा मार्न र घुमफिर गरेरै समय बिताउने गरेकाछन् । पुख्यौलि पेशाबाट बिस्थापित हुदै गए पनि यो समूदाय कामको खोजि गर्दे भारत पलायन हुन थालेकाछन् । कतिपय भने हातमा शिप नहुँदा बेरोजगार बस्न बाध्य छन् भने केहीले बैकल्पिक पेशा अपनाउन थालेका छन् । राजापुर नगरपालिका वडा नम्बर १ हिमालीपुरका बलबहादुर सोनाहाले विगतका वर्षहरुमा माछा मार्ने र सुन चालेर परिवारको लालन पालन गर्दै आएपनी यो पेशामा बन्देज लगाएपछी बेरोजगार भएकाछन् ।
पुख्यौलि पेशाबाट बिस्थापित भएपछि केहिले भने अहिले व्यवसायिक फर्म भाडामा लिएर बाख्रापालन र बंगुर पालन सुरु गरे पछी अहिले राम्रो आम्दानी लिन थालेकाछन् । माछामार्ने र सुनचाल्ने उनीहरुको पेशा संकटमा परेसँगै सोनाहाहरु धमाधम परिवार लिएर रोजगारीकालािग भारत पलायन हुन थालेका छन् ।
त्यसो त स्थानीय सरकारसंग बैकल्पीक पेशाकालागि धेरै पटक हारगुहार गरेका उनीहरुले रोजगारी नपाएपछि झनै बिलखबन्दमा परेकाछन् । आर्थिक अवस्था कमजोर भएकाले बालबालिकालाई पढाउन त कता हो कता बिहान बेलुकी हातमुख जोड्नै धौ–धौ छ उनीहरुलाई । त्यसैले यस्तो लोपोन्मुख जातिको अस्तित्व जोगाउन र उनिहरुको संख्यामा कमी हुन नदिन राज्यले सोरोजगार मुलक कार्यक्रम ल्याइ आत्मनिर्भर बनाउन तर्फ जोड दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्